काठमाडौं । मंगलबार बडादशैंको एकादशी । टीका लगाउने दोस्रो दिन । यस दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।
विजया दशमीका दिन परिवारमा टीका लगाएपछि पूर्णिमासम्म कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा रही आएको छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।
देशका केही स्थान र समुदायलाई छाडेर धेरै जसोले पूर्णिमासम्मै टीका लगाउने चलन बढेको छ ।
यसपालिको दशैंमा भने कोरोना भाइरसको महामारीका कारण आफ्नो घरभित्रमा सीमित रहेर टीका लगाइएको छ ।
सहरमा मात्र हैन गाउँगाउँमा पनि भौतिक दूरीको ख्याल गर्दा घरभित्रमात्र सीमित भएका समाचार आएका छन् ।
स्वास्थ्य मापदण्डको पालना नगर्नेहरु पनि पाइएका छन् ।