काठमाडौं । गत शुक्रबार मध्यराति (अक्टोबर २४ तारिख) देखि नेपालमा ‘क्लिनफिड’ लागू भएको छ । यसको एउटै उद्धेश्य हो –अब नेपालभित्र डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरुले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।
यसबाट नेपाली मिडिया खासगरि नेपाली टेलिभिजनहरुमा विज्ञापन ह्वात्तै बढ्छ भन्ने हो । त्यस्तै विदेशी च्यानलबाट उनीहरुको विज्ञापन नेपालभित्र प्रसारण नहुने भन्ने हो । सित्तैमा हाम्रो देशमा किन उनीहरुका विज्ञापन बजाउने भन्ने नीति अनुरुप क्लिनफिड आएको हो । तर यसको प्रत्यक्ष असर दर्शकलाई परेको छ । क्लिनफिड उपलब्ध नगराउने हो भने ती च्यानलहरु कुनै पनि हालतमा नेपालमा चल्न सक्दैनन् भन्ने हो ।
शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिनफिड लागू भएसँगै विज्ञापनरहित क्लिनफिडमा प्रसारण नगर्ने विदेशी च्यानलहरुको प्रसारण रोकिएको छ । विशेषगरी समाचारमूलक, मनोरञ्जनमुलक र खेलकुदका गतिविधिहरु हेर्न नपाएपछि दर्शकलाई पर्नुसम्म मार परेको छ ।
डिस होमका म्यानेजिङ डाइरेक्टर (एमडी) सुदीप आचार्य ‘विज्ञापन बढ्ने लोभमा कतै हामी उल्टो दिशातिर त गइरहेका छैनौं ?’ भनी प्रश्न गर्छन् । उनी भन्छन्, ‘क्लिन फिड आयो । हामीले स्वागत गरेका छौं । ओभर अल कन्सेप्ट ठीक छ । तर यसले पर्ने समस्या सोचेर नगरेजस्तो देखियो ।’
उनले आफूहरुजस्ता स्टेक होल्डरसंग सल्लाह नगरी ल्याइएको यो नीतिले दीर्घकालमा दर्शकलाई नै असर पर्ने पनि औंल्याएका छन् । उनले भने, ‘हामीले विदेशी मनोरञ्जनात्मक, खेलकुद र समाचारका च्यानलहरु बेचेर नेपाली च्यानल पनि त्यसमा मिसाएका थियौं । अब उपभोक्ताले नेपाली च्यानलका लागि भनेरमात्र पैसा तिरिदिएन भने त्यसको घाटा कसलाई ?’ उनी सरकारमाथि प्रश्न गर्दै भन्छन्, ‘दर्शकै नभएपछि आएको विज्ञापनले कस्तो प्रभाव पार्ला ?’
डिस होम एमडी आचार्य अगाडि भन्छन्, ‘सीएनएन, कार्टुन नेटवर्क, पोगो, वार्नर ब्रदर्श, स्पार्टस्, इन्टरटेनमेन्टका च्यानलहरु आउँदैनन् । तीन दिनको अवधिमा मैले दर्शकले आईपीएल, प्रिमियर लिग, कपिल शर्मा शो लगायतका चर्चित कार्यक्रमहरु हेर्न पाएनन् । यसले त दर्शक भाँडिए ।’
उनी भन्छन्, ‘इच्छा भएकाले जसरी पनि इच्छा पूर्ति गर्छ । दर्शकले इच्छानुसार इन्टरनेटमाफत लिगल–इलिगल एपको प्रयोग गरेर आफूलाई मन पर्ने कार्यक्रम हेरे । त्यसको घाटा कसलाई भयो ?’ उनी आफूहरुजस्तो टेलिभिजन प्रदायकहरु डुब्ने सम्भावना बढेको पनि उल्लेख गर्दै भन्छन्, ‘हामी जति पनि टेलिजिभन डिस्ट्रिव्युटर छौं हामीले सरकारलाई ट्याक्स र रोयल्टी तिरेर दर्शकलाई सेवा दिएका छौं । तर दर्शक घटे भने घाटा त हामीलाई हुने हो । सरकारले स्टेक होल्डरका कुरा किन नसुन्ने ?’
यसरी विदेशी च्यानलहरु रोकिने हो भने उपभोक्ताको खर्च पनि बढ्ने आचार्यले बताए । क्लिन फिड लागू गर्न खोज्दा अहिले भएका २८–३० लाख ग्राहक घटेर १८–१९ लाख पुग्ने अड्कल समेत गर्छन् । उनले सरकारलाई आग्रह गरे, ‘टेलिभिजन इन्डस्ट्रीको उत्थान हुन्छ भनेर गलत कदम पो चालियो कि । एकतर्फी मात्र कुरा सुनियो । यसलाई सच्याउनु पर्यो । स्टेकहोल्डरको कुरा पनि सुन्नुपर्यो ।’
कानुनी व्यवस्थाले विज्ञापनरहित नहुने १८० भन्दा बढी विदेशी च्यानलहरुको प्रसारण बन्द
एक वर्षदेखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।
२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिनफिडमा जान सेवाप्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । कोरोना भाइरसको महामारीका कारण समय नपुगेको भन्दै व्यवसायीहरुले छ महिना थप गर्न भन्दै सञ्चार मन्त्रालयसमक्ष लिखित निवेदन नै पेस गरेका थिए ।
भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केबल टेलिभिजन महासंघजस्ता संघ(संस्थाबाट क्लिनफिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
विदेशी च्यानलले क्लिनफिड उपलब्ध गराउन सक्ने अवस्था कमै देखिएको छ । यसो भयो भने ती च्यानलहरु फेरि देख्न पाइने छैन । अर्थात् कि त सरकारले कानुन संशोधन गर्नुपर्यो कि त त्यसमा अडिग रहनु पर्यो । क्लिनफिडको अनुगमनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड नै गठन गरेको छ ।
क्लिनफिड लागू भएसँगै करिब १२ अर्बको भनिएको विज्ञापन बजार हिस्सा ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तर यसमा डिस होम नेपालका एमडी आचार्य अहिले विज्ञापन बढ्छ भनेर क्लिनफिड लागू गर्दा दर्शक नै नभएपछि त्यो विज्ञापनको अर्थ के हुन्छ भनी प्रश्न गर्छन् । उनी भन्छन्, ‘तीन अर्बको फाइदा हुन्छ भनेर चार अर्ब खर्च भयो भने के गर्ने ?’
कोरोनाको महामारीले गर्दा विश्वमै ब्यापारमा प्रभाव परेको छ । क्लिनफिड लागू भएसँगै यसले देशको अर्थतन्त्रमा समेत फाइदा पुग्ने अडकल गरिएको छ । ठूलो संख्यामा प्राविधिक र कलाकारहरुले स्वदेशमै रोजगारी पाउने बताइन्छ । विज्ञापन एजेन्सीहरुको सक्रियता थप बढ्ने बताइन्छ । प्रश्न फेरि पनि तेर्सिएको छ ‘त्यस्ता टेलिभिजन हेर्नेको संख्या कम भयो भने त्यसले पुर्याउने असर के हुन्छ ?