काठमाडौं । राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल ट्वीटर ह्याण्डल साइबर हमलामा परेको छ । राष्ट्रपति कार्यालयको सूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको राष्ट्रपति कार्यालयको सामाजिक सञ्जाल ट्वीटरको एकाउण्टमा साइबर हमला भएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टिका ढकालले जनाएका छन् । उनका अनुसार ह्याण्डलमा साइबर हमला भएपछि डिएक्टिभ गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ ढकालले ट्वीटर ह्याण्डल बन्द गरिएको पुष्टि गरे । राष्ट्रपति भण्डारीको निजी सचिवालयले सञ्चालन गर्दै आएको सो ह्याण्डल बन्द गरिएको छ । सो ह्याण्डलबाट राष्ट्रपति कार्यालयाबारे सूचना तथा सन्देशहरु प्रवाह हुदै आएको थियो । ट्वीटरले भेरिफाइड गरेको सो ह्याण्डल डिएक्टिभ गरिएको हो । राष्ट्रपति कार्यालयले फेरि ट्वीटर ह्याण्डल सञ्चालन पनि गर्ने जनाएको छ । प्रेस विज्ञ ढकालले अर्को कुनै स्वरुपमा ह्याण्डल सञ्चालन गरिने बताए ।
भेरिफाइड भएको दुईदिनमात्र भएको सो ह्याण्डलमा साइबर आक्रमण भएकाले बन्द गरिएको ढकालले बताए । ‘भेरिफाइड भएको दुई दिनमात्र भएको थियो । साइबर आक्रमण भयो । त्यसका कारण हाललाई सो ह्याण्डल स्थगन गरिएको छ, सोही ह्याण्डललाई रिकभर गर्ने की के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,’ ढकालले भने । उनका अनुसार सो ह्याण्डलमा अनधिकृत स्थानबाट एक्सेस गरिएको थियो । तर, कसले कहाँबाट के गर्यो भन्नेबारे भने केही खुलाएनन । उनले ट्वीटर सञ्चालनबारे सरकारका सूचना प्रविधि अधिकारीहरुसँग छलफल गरेको समेत जानकारी दिए । उनले राष्ट्रपति विद्याादेवी भण्डारीको व्यक्तिगत ह्याण्डलसमेत फेरिफाइड हुने प्रक्रियामा रहेको जानकारी दिए ।
प्रेस बिज्ञका रुपमा कार्यरत ढकालले उचित ढंगले ट्वीटर नचलाएको भन्दै सामाजिक संजालमा उनको आलोचना समेत भइरहेको छ। ट्वीटरमा ढकालको आलोचनान हुँदै कैयन ट्वीट भएका छन् । फेक एकाउन्टलाई बदलेर पुरानो कन्टेन्ट नहटाई रास्ट्रपति कार्यालयको अफिसियल एकाउन्ट बनाउने अनि, पोल खुलेसी "साइवर हमला" भनिएको अधिकांशको आरोप छ।