काठमाडौं । दशैको सम्मुखमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बोलचाल बन्द भएपछि संवाद आदानप्रदान गर्ने सुत्रको खोजी गर्दै पूर्ववत सम्बन्ध बनाउने ‘पुल’को जिम्मेवारी फेरि एकपटक पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् । कात्तिक ४ गतेपछि दुई अध्यक्षबीच भेटघाट नभइरहेको अवस्थामा महासचिव पौडेल वालुवाटार र खुमलटारको बीचमा मध्यस्तको भूमिका निभाइरहेका छन् ।
कात्तिक १५ देखि शुरु हुने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्ने विषयमा दुई अध्यक्षबीच संवाद नहुँदा अप्ठ्यारो परिरहेका बेला महासचिव पौडेल बुधबार दिउसो प्रचण्ड निवास खुमलटार पुगेर स्वीकृति लिएका थिए । ‘ केन्द्रीय कमिटीको बैठक स्थगित गर्ने विषयमा दुबै अध्यक्ष सहमत थिए तर दुबैकोबीचमा अहिले संवाद छैन यस्तो अवस्थामा महासचिव पौडेल आफै खुमलटार पुगेर प्रचण्डसँग स्वीकृती लिएपछि मात्रै केन्द्रीय कमिटिको बैठक स्थगित भएको सूचना जारी गरिएको हो’, वालुवाटार निकट स्रोतले भन्यो ।
भदौ २६मा सकिएको स्थायी कमिटी बैठकयता नेकपा अध्यक्ष प्रचण्ड नियमितजसो बालुवाटार धाएपनि ओलीले उनलाई रौ सरह भाउ नदिएकै बीचमा कर्णाली प्रदेशको विवाद आयो । त्यसक्रममा दुवै अध्यक्षबीच विवाद उत्पन्न हुँदा प्रचण्ड ओलीले बोलाउँदा पनि बालुवाटार गएका छैनन । अझ कात्तिक ४ गतेपछि भने दुवै अध्यक्षबीच सम्वादहिनताको अवस्था रहेकाले बोलचाल नै बन्द रहेको छ ।
यसबीचमा महासचिव पौडेलले ओली र प्रचण्डबीचको सूचनालाई भने नियमति आदानप्रदान गरिरहेका छन् । कर्णाली प्रदेशको विवादपछि दुवै अध्यक्षले भेटघाट बन्द गरेपनि महासचिव पौडेलले पार्टीको कामलाई लिएर दुवै अध्यक्षको स्वीकृति लिने काम गरेका थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली बालुवाटारमा बसेर आफूखुसी काम गर्ने, पार्टीका निर्णयहरू कार्यान्वयन हुन नदिने गर्न थालेपछि संवादको कुनै अर्थ नभएको भन्दै दुवै अध्यक्षबीच टेलिफोन संवाद समेत हुन छाडेको छ।
प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार दुई अध्यक्षबीच दशैंको शुभकामना आदानप्रदान पनि भएन । ओली–प्रचण्डको संवादहिनताले केन्द्रीय कमिटीको बैठक स्थगित गर्न पनि समस्या भयो । महासचिव विष्णु पौडेलले दौडधूप गरे । पार्टी पद्धतिअनुसार स्थायी कमिटीले आह्वान गरेको केन्द्रीय कमिटी माथिल्लो कमिटीको बैठक बसेर स्थगित गर्नुपर्ने भएपनि तत्काल स्थायी कमिटी वा सचिवालय बैठक बस्नसक्ने अवस्था नभएपछि दुई अध्यक्षको सहमति आवश्यक भएकाले पौडेल बुधबार खुमलटार पुगेका थिए । ‘दुवै अध्यक्षबीचमा सम्बाद भएको छैन तर महासचिव पौडेल वालुवाटार र खुमलटार पुगेर दुई अध्यक्षसँग कुराकानी गरेर कात्तिक १५–१७ गतेलाई तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिर १५–१७ लाई सारिएको हो ।
स्थायी कमिटीको बैठकपछि २९ भदौमा अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा ओली–प्रचण्डले कहिल्यै विवादमा नफर्कने बताएपनि अहिले उनीहरुबीच नै बोलचाल बन्द भएको छ । कर्णाली प्रदेशमा शूरुमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच मिलेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर प्रचण्डले माधव नेपालसँग मिलेर ओली पक्षलाई एक्ल्याउन खोजेपछि भने ओली प्रचण्डसँग चिढिएका थिए । ‘आफूसँग मिलेमात्रै सबैथोक मिलाउन सकिने माधव नेपालसँग मिलेपछि केही पनि प्राप्ति हुन नसक्ने अवस्था रहेको स्मरण गराउदा पनि प्रचण्डले नमानेपछि ओली चिढिएका हुन्’, वालुवाटार निकट स्रोतले भन्यो । बालुवाटार निकट स्रोतले भन्यो, ' प्रधानमन्त्रीको स्पष्ट सन्देश मलाई एक्लो पारेर माधव नेपालसँग मिलेर फाइदा हुन्छ भने उनीसँग मिलेर जे लिन खोजेको हो प्रचण्डले लिदा हुन्छ।'