काठमाडौं। करिब एक वर्षअघि मेसुट ओजिल आर्सनलका सबैभन्दा महंगा खेलाडीमध्ये एक थिए, चीनको अत्याचारविरुद्ध बोलेसँगै अहिले उनी खेलबाहिर छन् । सबै कुरा सामान्य थियो, ३२ वर्षीय टर्कीस मुलका जर्मन फुटबलर आर्सनलका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी थिए । तर, यो सबै कुरा एउटा ट्विटले बिगार्याे । चीनले उइगुर समुदायका मुस्लिमहरुमाथि गरिरहेको अत्याचारकाविरुद्ध आवाज उठाउँदै उनले सन् २०१९ को डिसेम्बरमा एक ट्विट गरे । उनको ट्विटले उनको भविष्यलाई ठूलो झड्का हान्न सक्ने चेतावनी त त्यतिखेरै पाएका थिए ।
चीन फुटबलका लागि विश्वकै एक ठूलो बजार हो । सीसीटीभी र पीपी स्पोर्ट्सजस्ता ठूला टेलिभिजनले प्रिमियर लिगको बोर्डकास्टिंगका लागि सम्झौता गरेका छन् । चीनबाट उठ्ने ठूलो मुल्यले नै फुटबल टिमहरुलाई ठूलो आर्थिक योगदान पुर्याउने गर्छ । तर, जब चीनको अत्याचारविरुद्ध ओजिलले आवाज उठाए, तब ओजिल र आर्सनलमात्रै हैन् प्रिमियर लिगलाई नै चीनले झड्का दियो । उसले प्रिमियर लिग बोर्डकास्ट समेत नगर्ने चेतावनी दियो । ओजिलले सन् २०२० को मार्चसम्म आर्सनलमा खेलिरहेकै थिए । कोरोना भाइरसको माहामारी र चिनियाँ झड्काबाट ओजिललाई ओझेल पार्न आर्सनल बाध्य भयो ।
चिनियाँ सामाजिक सञ्जाल वाइबोमा ओजिलका करिब ६० लाख फ्यानहरु गायब भए । ओजिलका ५० हजार दर्ता सहयोगी सदस्यहरु गायब भए । यसबाहेक अन्ततः आर्सनलले सन् २०२०-२१ को प्रिमियर लिग सिजनको घोषित २५ सदस्य टिमबाट ओजिललाई हटाएको छ । आफुलाई आर्सनलले हटाएको विषयमा ओजिलले ट्विट गर्दै आफुलाई दुख लागेको बताएका छन् ।ओजिललाई यसअघि युरोपा लिग पनि खेलाइएको थिएन । मड्रिड छोडेर आर्सनल आएका ओजिलले झिनजियांगमा उइगुर मुस्लिम समुदायमाथि चीनले गरेको अत्याचारविरुद्ध आवाज उठाउनु महँगो सावित हुन पुग्यो ।
आर्सनलले ओजिललाई कोरोना भाइरसको महामारीका कारण पैंसा कटौतिको समेत आग्रह गरेको थियो । तर, ओजिलले त्यो स्विकार गरेनन् । प्रति हप्ता ४ लाख ५० हजार डलर कमाउने ओजिललाई अहिले आर्सनलले चिनियाँ सरकारलाई खुसी पार्ने तरिकाबाट किक हानेको छ । धेरै ओजिललाई राजनीतिक र धार्मिक विषयमा आवाज नउठाउनु उचित रहेको भन्दै खेलमा राजनीति मिसिन लागेको टिप्प्णी गरेका थिए । तर, यो ओजिललाई डुबाउने प्रपञ्चको एक प्रोपागाण्डाका रुपमा धेरैले लिएका छन् । किनकी आर्सनलले आफैले जातिय र धार्मीक किसिमका मुद्दामा अभियान चलाउने गरेको छ । केही अघि मात्रै आर्सनलले आधिकारीक ट्विटर ह्याण्डिलबाट ब्ल्याक लिभ्स म्याटर भन्दै अभियान चालेको थियो । यति मात्रै हैन्, अफ्रिकामा प्रहरी हस्तक्षेपका विषयमा समेत आर्सननले आवाज उठाएको थियो । यसरी विश्वभर भइरहेका अत्याचारका विषयमा क्लबले नै आवाज उठाउने गरेको थियो ।
त्यसमा ओजिलले व्यक्तिगत रुपमा आफु मुस्लिम भएकै कारणले पनि उइगुरमाथिको दमनविरुद्ध आवाज उठाउनु गलत हुने कुरै थिएन । तर, चिनियाँ कम्युनिस्ट पार्टीबाट नियन्त्रित चिनियाँ नागरिकहरुलाई आर्सनलप्रति घृणा फैलाउँदै र आफ्नो अत्याचारलाई कायम राख्न चीनले यसरी ओजिलको भविष्यलाई नै संकटमा पारिदिएको छ । यद्यपी ओजिलको पुर्ख्यौली देश टर्कीले भने संसारभरका मुस्लिममाथि भएका अत्याचार बिरुद्ध आवाज उठाएपनि चीनमा उईगुरमाथि भएको मानवअधिकार हननको बारेमा बोल्न सकेको छैन । चीनले अल्पसंख्यक उइगुर समुदायका मुस्लिमहरुलाई उनीहरुको धर्म परिवर्तन, रितीरिवाज र भाषा सबै परिवर्तन गराएर चिनियाँ भाषा र धर्म मात्रै अँगाल्न बाध्य पार्दै लाखौं उइगुरहरुलाई उत्पिडन शिविरमा लगेर धर्म परिवर्तन, कुरान परिवर्तनलगायतका जबजरजस्ती कार्यहरु गराउँदै आएको छ । यसरी अल्पसंख्यक समुदायका मुस्लिमहरुमाथिको अत्याचारविरुद्ध अहिले विश्वका विभिन्न मंचमा आवाज उठ्दै आएको छ ।
चीनले उनीहरुमाथि के गरिरहेको छ भनेर सो शिविर क्षेत्रमा कसैलाई पनि प्रवेश दिने गरेको छैन् । यसै अत्याचारकोविरुद्ध ओजिलले आवाज उठाएका थिए तर दुर्भाग्य अहिले उनको फुटबल भविष्यमा नै चीनले समाप्त झै गरिदिएको छ । एउटा समुदायको मानवअधिकारको पक्षमा बोल्दा करिअर सकिने अवस्थामा पुग्दा व्यापार भइसकेको फुटवल जगतले पनि उनको बारेमा कुनै चिन्ता लिएको छैन बरु उनलाई खेलबाटै अलग गरिदिएको छ ।