काठमाडौं । कोरोना भाइरस संक्रमित भएर होम आइसोलेसनमा रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनको मौनतापछि मुख खोलेका छन् । भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल ५ कात्तिकमा नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सम्बन्धमा उनले मुख खोलेका हुन् ।
गोयलले डा. भट्टराईलाईसमेत भेटेको चर्चा भए पनि यसबारेमा उनले केही बताएका छैनन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत को आयो र को गयो भन्नुभन्दा अरु देशमा लगातार आवत जावत भइरहँदा आफ्नो देशमा कोही नआइदिँदा के होला भनी प्रश्न गरेका छन् ।
उनले ट्वीटरमा बिहीबार बिहान लेखेका छन्, ‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व–क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु ! हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामी कहाँ खै ? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् !’