काठमाडौं। देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिइ पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेसले सरकार समक्ष आग्रह गरेको छ । भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
' नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् । जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ,' कांग्रेस प्रवक्ता शर्माले भनेका छन्,' अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौं नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।'
नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले माग गरेका छन्। पिडित विद्यार्थीका अभिभावकहरुले पनि आफ्ना बालबालिकाको उद्धारका लागि सरकारसँग माग गरेका छन् । देहरादुनमा लामा गुरुले विद्यार्थीहरुलाई कुटेको तस्वर सहित आफ्ना आफन्तहरुलाई जानकारी गराएपछि यो घटना सार्वजनिक भएको हो ।