काठमाडौं । चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सनसनीपूर्ण जित निकाल्दा कोलकाताको प्लेअफ यात्रा कठिन बनेको छ ।
दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ७३ रनको विजयी लक्ष्य चेन्नईले ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ५३ बलमा ७२ रन बनाए ।
अम्बाटी रायुडुले २० लबमा ३८ रन बनाए । रविन्द्र जडेजाले चेन्नईलाई जिताए । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल जिताएका हुन् ।
जडेजाले ११ बलमा ३ छक्का र २ चौकाको मद्धतले नटआउट रहँदै ३१ रन बनाए । उनले अन्तिम ओभरमा २ छक्का प्रहार गर्दै चेन्नईलाई जिताएका हुन् । कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले ६१ बलमा ८७ रन बनाए । यस्तै शुबमन गिलले २६ र दिनेश कार्तिकले १० बलमा नटआउट २१ रन बनाए ।
चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाले १–१ विकेट लिए ।
जितसँगै चेन्नईले कोलकातासँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो ।
अंक तालिका
यो खेलपछि चेन्नईले कोलकातालाई अप्ठेरोमा पारिदिएको छ । चेन्नई अन्तिम खेल खेल्नुअघि १० अंकसहित पुछारमा छ ।
तर कोलकाताको भने प्लेअफ यात्रा कठिन बनेको छ । कोलकाता अन्तिम खेल खेल्नुअघि १२ अंकसहित पाँचौं स्थानमा छ ।
मुम्बई १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ । रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सको समान १४ अंक छ ।
किंगस इलाभेन पन्जाबको १२ खेलबाट १२ अंक छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको १०–१० अंक छ ।
शुक्रबारको खेल
शुक्रबार पन्जाब र राजस्थान खेल्दैछन् । यो खेल जित्दा पन्जाबले प्लेअफमा स्थान बनाउने सम्भावना झनै बलियो हुनेछ । राजस्थानले जित्दा प्लेअफको अंक गणितीय सम्भावना बाँकी रहने छ ।