सर्लाही । सर्लाहीमा शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव मनाइएको छ ।‘मोहम्मद डे’ पनि भनिने सो दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएको हरिपुर नगरपालीकाका प्रमुम जमरुद्धिन मन्सुरले जानकारि दिए । उनको अनुसार शुक्रबार सर्लाहीका २० ओटै स्थानीय तहमा मोहम्मद डे मनाइएको छ ।
साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ । यही अवसरमा प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै शुक्रबार सार्वजनिक बिदा दिएको जानकारी दिए ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो ।
उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।