काठमाडौं। केरुङ–रसुवागढी नाकामा दश महिनादेखि गरेको अघोषित नाकाबन्दीको प्रभाव देखिन थालेको छ। थोरबहुत पूँजी जुटाएर व्यापारमा जुटेकाहरु चिनियाँ अघोषित नाकाबन्दीका कारण यस्तो मारमा परेका छन् की उनीहरु आफ्नो जीवन त्याग्न समेत उद्यत भएका छन्। यस्तै पीडा व्यहोरेको छ सिन्धुपाल्चोकका बाह्रबिसेका पौडेल परिवारले । चीनले लगाएको अघोषित नाकाबन्दीका कारण सीमामै सामान अलपत्र परेर व्यापार विग्रिएको बाह्रबिसेका ३५ वर्षीय व्यापारी हरेराम पौडेलले केहि उपाय नदेखेपछि आफैलाई मेटाएका छन् । सबैजना दशैंको तयारीमा रहेका बेला उनले भने दशैंको मुखमा आफैलाई मेटाए । पौडेलले २७ असोजको साँझपख पेप्सीकोलाको आफ्नै निवासमै पासो लगाएर आत्महत्या गरेपनि यसको कारण भने ढीला गरि दशैंपछि मात्र मिडियामा आइपुगेको हो।
प्रहरीका अनुसार असोज २७ गते अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि उनको परिवारको दशैं मात्र खोसिएन परिवारमा दशा नै लाग्यो। श्रीमती, सात वर्षका छोरा र १० वर्षकी छोरीको सुखी परिवारका अभिभावक पौडेलले यस्तो कठोर कदम किन चाले त धेरै प्रश्न गर्छन । तर उनको दैनिकी व्यवहारलाई नजिकबाट चिनेर उनको पीडा बुझेकाहरु चीनको अघोषित नाकावन्दीले एउटा परिवार उजाडिएको बताउँछन्।
सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमा नाका बन्द भएपछि धेरै व्यवसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो । विश्वव्यापी महामारीले चौपट बनेको व्यापार त्यतिखेर अझ वर्वाद भयो जतिखेर सीमा नाकामा चीन सरकारले अघोषित नाकावन्दी गरिदियो। यो अघोषित नाकावन्दी खुलाउन न सरकारले पहल गर्यो बरु सरकार उल्टै चीनको चाकडीमा लागिरह्यो। चीनबाट ल्याएका सामान सम्वन्धित ठाउँमा समयमै पुर्याउन नसक्दा धेरैले ठूलो क्षति व्यहोर्न वाध्य हुनुपर्यो। सड्ने सामान त कतिपय गाडीमा विग्रिएर कुहियो। व्याजमा पैसा लिएर व्यापारमा लगानी गरेकाहरु धेरैले व्यर्थमा बैंक तथा साहुको व्याज तिरेरै बस्नुपर्यो।
चीनबाट सामान ल्याउने एक व्यवसायीले हाम्राकुरासँग कुरा गर्दै भने, 'राजदुत होउ यान्कीले सीमा नाका खुल्यो भनेर ट्वीटरमा लेखेर त बस्नुभयो तर व्यवसायीले महिनौदेखि दुख पाइरहे त्यसमा कसैको ध्यान गएन। अझ सीमा नाकामा चिनियाँ एजेन्टहरुको मनपरीले नेपाली व्यापारीहरुको ढाड नै भाच्चियो। यस्तो अवस्थामा मन दह्रो पार्न नसक्नेहरु त आत्महत्या गर्न विवश भइहाल्छन नी। ' कारोबारका क्रममा चीन आउजाउ गर्नुपर्ने भएका कारण आफ्नो परिचय लुकाएर हामीसँग कुरा गरेका उनले भने चिनियाँ एजेन्टहरुले त्यहाँको स्थानिय प्रसासनसँग मिलेर नेपालीहरुलाई यतिसम्म लुटेकी २५ किलोमिटर बाटोमा ढुवानी गरेको नेपाली १४ लाखसम्म लिए । उसै त लामो समयदेखि बाटोमै अलपत्र परेर सावाँ व्याज गरेर घाटा हुने अवस्थामा पुगेको सामान चिनियाँ एजेन्टहरुले नेपालको सीमा नाकासम्म ल्याइदिएको थप चर्को शुल्क लिने भएपछि धेरै व्यवसायी पौडेल जस्तै आत्महत्याको अवस्थामा पुगेको उनले बताए।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले पौडेलको आत्महत्याको विभिद पाटोसँग जोडिएको बिषयमा अनुसन्धान भइरहेको बताए। कारोवार भएका व्यक्तिसँग सोधपुछ र उनको मोवाइलको पनि फरेन्सिक जाँच गरिने प्रहरीले जनाएको छ । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका थिए । दशैं अगाडीसम्म पनि ति सामान नेपाल भित्र्याउन नसकिएपछि धेरै व्यवसायी घर न घाटका भएका थिए। यहि चरणमा पौडेलले भने आत्महत्या नै गरे। धेरैतिरबाट नाकाबन्दीको अवस्था उठेपछि राजदुत यान्कीले केहि दिनअघी फेरि तस्विर राख्दै नाका सूचारु भएको बताएकी थिइन । तर अहिलेपनि चिनियाँ एजेण्टहरुलाई धेरै रकम खुवाउन सक्नेहरुको सामान मात्र चाँडो आइरहेको छ । अरुको त अझै अन्यौल छ ति व्यवसायीले भने । उनले भने, 'केहि कन्टेनर आए तर केरुङ नाकामा अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।'