arrow

गेलको ९९ रन खेर गयो, राजस्थानद्वारा पन्जाब पराजित

logo
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
chrish-gale-ipl.jpg

काठमाडौं । क्रिस गेलको ९९ रनका बाबजुद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा किङ्स इलाभेन पन्जाबले पराजय बेहोरेको छ । पन्जाबलाई राजस्थान रोयल्सले पराजित गरेको हो । 

आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ .३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५०, सन्जु सामसनले ४८, कप्तान स्टिभ स्मिथले नटआउट ३१ तथा रोबिन उथप्पाले ३० रन बनाए  । पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको नोक्सानीमा १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ९९ रन बनाए । उनले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २–२ विकेट लिए ।

राजस्थानले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

अंक तालिका 
पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

पन्जाबले १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

१२ खेलबाट मुम्बई इन्डियन्स १६ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ । रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सको १४–१४ अंक छ । 

पन्जाब, राजस्थान र कोलकाताको १२–१२ अंक छ । 

सनराइजर्स हैदराबादको १२ खेलबाट १० अंक छ । चेन्नई सुपर किंग्सको १३ खेलमा १० अंक छ । 

प्लेअफ समीकरण 
राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड समेत रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ ।

मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाइसकेको छ । यस्तै चेन्नई  भने प्ले अफ होडबाट बाहिरिइसकेको छ ।

अंक तालिका हेर्दा यदि बैंगलोर र दिल्लीले १३ औं खेलमा हार बेहोर्ने हो भने अन्तिम चरण निकै रोमाञ्चक बन्नेछ । 

त्यस्तै हैदराबादले आफ्नो १३ खेलमा जित निकाल्ने हो भने त्यो पनि अझै बढी रोमाञ्चक बन्नेछ । 



लोकप्रिय समाचार
नयाँ