ओखलढुंगा। नेपाली कांग्रेसका युवा नेता एवम् संविधानसभा सदस्य रामहरि खतिवडाले ओखलढुंगा जिल्ला कारागारमा पानी ट्याङकी सहयोग गरेका छन् । कैदी बन्दीहरुलाई पिउने पानीको समस्या समाधानका लागि खतिवडाले १ हजार लिटरको हिलटेक पानी ट्याङकी प्रदान गरेका हुन् ।
कारागारमा कैदीबन्दी तथा कर्मचारीले पानीको समस्या सुझाएपछि पानी ट्याङकी उपलब्ध गराएको खतिवडाले बताए । खतिवडाले कारागार कार्यालयका प्रमुख चुडामणि अर्याललाई हस्तान्तरण गर्दै पानीको समस्या समाधानका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताए ।
खानेपानीको समस्या भएको बेला उक्त हिलटेकमा पानी जम्मा गरेर सहज रुपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको जिल्ला कारागार कार्यालयका प्रमुख चुडामणि अर्यालले बताए । खतिवडाले हिलटेकसंगैं कैदी बन्दीहरुलाई फलफूल समेत वितरण गरे। कैदीबन्दीहरुको शिप विकासमा हौसला थप्न कारागार भित्रै बुनेको ढाकाको केहि थान टोपी समेत खरिद गरी सहयोग गरेको खतिवडाले बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव तथा सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी र नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष तथा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईको समेत सो अवसरमा सहभागी थिए। जिल्ला कारागार ओखलढुंगामा हाल ५ महिला सहित ७५ जना कैदी बन्दी रहेको कारागार प्रमुख अर्यालले जानकारी दिए।
कैदीबन्दीहरुलाई सूचना तथा समाचारको पहुँचमा सहजता ल्याउन २०७६ को दशैंमा सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले एक सेट टेलिभिजन, डिक्स र रेडियो उपलब्ध गराएकाा थिए भने खतिवडाले विगत बर्षदेखि एउटा दैनिक पत्रिकाको ग्राहक शुल्क तिरिदिएर सहयोग गर्दै आएका छन् ।