नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर ७६ दशमलव ९ प्रतिशत
रासस,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
101
Shares
काठमाडौं। पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५ सय ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो। आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ।
सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन्। काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन्। यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन्। शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन्।
आज सत्रको मृत्यु
यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ। अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ।