काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका नेता दिपक ओझालाई रिहाईको माग गर्दै नेविसंघले देशका विभिन्न स्थानमा विरोध र्याली निकालेको छ । त्यस्तै नेविसंघले साँझ विभिन्न ठाउँमा मशाल जुलुससमेत निकालेको छ ।
नेविसंघले अत्तरियामा विरोध र्याली निकाल्यो । नेविसंघ क्षेत्र नम्बर ४ कैलालीको आयोजनामा अत्तरिया बजारमा विरोध र्याली निकालेको हो । नेता ओझाको रिहाईको माग गर्दै नेविसंघका विद्यार्थिहरुले अत्तरिया बजार परिक्रमा गरेका थिए । नेविसंघले आफ्ना संगठनका नेताहरुमाथिको षडयन्त्रपूर्वक घरपकड, ज्यादती, यातना र झुटा मुद्धा लगायत भ्रष्ट सरकारको राज्य आतंकका विरुद्ध विरोध र्याली निकालेको जनाएको छ ।
कोण सभालाई सम्बोधन गर्दै नेविसंघ कैलाली क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापति गणेश शाहले नेविसंघका नेता ओझाको रिहाई नगरिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने बताए । नेविसंघ गोदावरी नगरपालिकाले नेता ओझालाई प्रहरीले बुधबार अत्तरियाबाट नियन्त्रणमा लिएको थियो ।
त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा योजनाकार भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका ओझालाई बिहीबार नै काठमाडौं ल्याइएको थियो । उपप्राध्यापक चलाउनेमाथि गत असोज २० मा त्रिवि परिसरभित्रै कुटपिट भएको थियो ।
यसैबीच डोल्पामा नेविसंघका नेता सोमराज मल्लको नेतृत्वमा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
त्यस्तै नेबिसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा काठमाडौंको पुतलीसडकमा मसाल जुलुस निकालिएको छ ।
त्यस्तै कैलालीमा क्षेत्रीय अध्यक्ष गणेश शाहको नेतृत्वमा मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ ।