काठमाडौं । लगातार चौथो हारपछि दिल्ली क्यापिटल्सको युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ सम्भावना नै मुस्किलमा पर्दै गएको छ । ९ खेलसम्म शीर्ष स्थानमा रहँदै आएको दिल्लीले त्यसपछिका चार खेलमा लगातार हार बेहोरेसँगै क्वालिफायरमा पुग्नुपर्ने टिम प्लेअफमै पुग्नेमा आशंका बढेको छ ।
१३ खेलसम्म नेपाली स्पिन बलर सन्दीप लामिछानेलाई समेत नखेलाएको दिल्लीले आफ्नो लय ग्ुमाउँदा अन्य टिमलाई फाइदा पुगेको छ । चौथो हार दिल्लीले दुबईमा शनिबार भएको खेलमा मुम्बई इन्डियन्ससँग बेहोर्यो । मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको सामान्य विजयी लक्ष्य मुम्बईले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा इशान किशनले नटआउट रहँदै ४७ बलमा ७२ रन बनाए । क्विन्टन डी ककले २६ रन बनाए । दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको नोक्सानीमा १ सय १० रन मात्र बनाएको थियो । कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३–३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १–१ विकेट लिए ।
अंक तालिका
जितसँगै मुम्बई शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ । अन्तिम खेलमा पराजित भए पनि मुम्बई शीर्ष दुईमै रहने छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।
शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् । क्वालिफायरको विजेता फाइनल पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर (तेस्रो र चौथो स्थानको टिमबीच हुने) खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ
मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ यात्रा कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।
दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।
दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोरविरुद्ध खेल गुमाएमा दिल्लीको प्ले अफ यात्रा सकिनेछ ।
पहिलो पटक निकै चम्किएको दिल्लीको रेस भने अन्तिम समयमा कमजोर देखिएको छ । दिल्लीले सन्दीपलाई समेत पनि खेलाएन । अन्तिम डु अर डाइको खेलमा पनि सन्दीप खेल्नेमा आशंका छ ।