arrow

कर्णालीमा हलचल हुँदा बालुवाटारमा ओलीलाई असर, मन्त्रिमण्डल हेरफेरको तयारी 

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
kp-sharma-oli4.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको महत्वाकांक्षाका कारण पार्टी निकै विचलनमा पुगेको छ । त्यसकै असर अहिले कर्णाली प्रदेशमा परिरहेको छ । ओलीले केन्द्रदेखि प्रदेश र स्थानीय तहमा हैकम जमाउन खोजेपछि उनी त अप्ठेरोमा परेका छन् नै उनको समर्थन गर्नेलाई समेत समस्या भएको छ । 

आफू मुख्य पदमा रहेर गुटगत विकास गरेपछि ओली पक्षलाई अहिले संकट आएको छ । ओलीले हरेक कुरामा हस्तक्षेप गर्दै निर्देशन दिन थालेपछि परेको असरका कारण कर्णालीमा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको छ । दशैं अगाडि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन ओली पक्ष सक्रिय भएपछि जब संसदीय दलका नेतासमेत रहेका शाहीले त्यसको व्यवस्थापन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाए तब ओली पक्षका मन्त्री फेर्न थालेका हुन् । 

शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ । ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी भएको बताइएको छ ।

बैंकिङ कसुरको आरोपमा खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री पनि आइतबारै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए । अब बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम चर्चामा रहेको छ ।

यसैबीच मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री रावलले सामाजिक सञ्जालमार्फत अघोषित रुपमा पद त्यागेको घोषणा गरेका छन् । ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएका थिए । 

कर्णालीको त्यो आगोको राप बालुवाटारमा पनि सल्केको छ । उक्त घटनापछि ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । कर्णाली प्रदेशका लागि ओली र प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए । 

ओली र प्रचण्डबीच सम्बन्ध चिसिँदा ओलीले माधव नेपाललाई आफ्नो पकडमा ल्याउन खोजेका छन् । नेपाललाई भावी पार्टी अध्यक्षको ‘लोभ’ देखाउँदै ओलीले नेपाललाई आफ्नो पक्षमा पार्न खोजेका हुन् । 

सबैभन्दा बढी धोका र अपमान सहन पुगेका नेपालले सजिलै ओलीलाई विश्वास गर्ने पनि छैनन् र उनमा अब भावी अध्यक्षको निर्णय गर्न सक्ने दम पनि नभएको बताइन्छ । ओलीभित्र धेरै ओलीहरु जन्मिसकेको एक नेपाल पक्षीय स्थायी कमिटी सदस्य बताउँछन् । 

उनले भने, ‘ओली हैन ओली गुटमा धेरै ओली जन्मिसके । जसले आफ्नो गुटलाई मिलाउन सक्ने सम्भावना छैन भने उसको अन्य गुटमा प्रभाव कहाँबाट आउला र ।’



लोकप्रिय समाचार
नयाँ