arrow

देशभर तेइस जनाको मृत्यु, ठूला शहरमा उच्च सतर्कता अपनाउन आग्रह

दुई हजार ८२४ संक्रमित थप

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २३ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९६० पुगेको छ । संक्रमणका कारण मृत्यु हुने शून्य दशमलव ५ प्रतिशत हो । 

साथै देशभरमा आइतबार कोभिड–१९ का दुई हजार ८२४ संक्रमित थपिँदा तीन हजार ६२० संक्रमणमुक्त भएका छन् ।  थपिएका संक्रमितमध्ये पुरुष एक हजार ७७८ र महिला एक हजार ४६ छन् । 
     
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबार काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा एक हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ नयाँ संक्रमित थपिएका छन् । 

संक्रमणमुक्त भएका तीन हजार ६२० समेत गरी आइतबारसम्म एक लाख ३४ हजार ८४२ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म निको हुने दर ७७ दशमलव ७ प्रतिशत छ । आइतबारसम्म सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा संक्रमितमध्ये २१ दशमलव ८ हो । 

काठमाडौँ उपत्यकामा आइतबार एक हजार ६२२ नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ९८५ पुरुष र ६३७ महिला छन् । उपत्यकामध्ये हाल काठमाडौँमा १६ हजार २२९, ललितपुरमा दुई हजार ३४२ र भक्तपुरका एक हजार सक्रिय संक्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ७९७, ललितपुरमा दुई हजार २५७ र भक्तपुरमा एक हजार ७१९ छ ।
 
देशभरमा हालसम्म संक्रमितको सङ्ख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । सक्रिय संक्रमितमध्ये हाल ३१ हजार ३९४ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार २३ नमूना परीक्षण भएको थियो । 

हालसम्म १४ लाख ५६ हजार ३६६ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ४९ हजार ९०८ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर ११ दशमलव ९ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ३८६ छ । 

 प्रदेशानुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या नं १ मा छ हजार ३३५, नं २ मा एक हजार ३३८, वाग्मतीमा १७ हजार ८३४, गण्डकीमा एक हजार ३५९, लुम्बिनीमा तीन हजार ६६, कर्णालीमा ५४५ र सुदूरपश्चिम प्रदेशमा ९१७ छ । 

देशभरमा गरी आइतबार २८३ संक्रमित आइसियुमा छन् । प्रदेश १ मा २९, प्रदेश २ मा ११, वाग्मतीमा १८०, गण्डकीमा १५, लुम्बिनीमा ३९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच संक्रमित आइसियुमा छन् । त्यस्तै प्रदेश १ मा १२, वाग्मतीमा ५८, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा एक गरी ७८ संक्रमित भेण्टिलेटरमा छन् ।  होम आइसोलेशन सल्लाह र रिफरको काम तदारुकताका साथ गर्न डा गौतमले सबै स्थानीय तहलाई अनुरोध गरेका छन् ।

 काठमाडौँलगायत ठूला शहरमा संक्रमण फैलन दर उच्च भएकाले उच्च सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरे । कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या फरकफरक भएकाले त्यसको अध्ययनका लागि तीन जनाको समिति गठन गरिएको र त्यसले अध्ययन गरिरहेको उनले जानकारी दिए । 

उनका अनुसार सरकारी अस्पतालमा धरौटी नलिई उपचार गर्न निर्देशन दिइएको छ । मन्त्रालयले यसअघि नै धरौटी सूचना निकाल्नेलाई स्पष्टीकरण माग गरेको थियो । उनले भने, “सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क गर्ने हाम्रो पूर्वनिर्णय यथावत् छ ।” 

आइतबारसम्म देशभरका ७७ जिल्लामध्ये १४ मा संक्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोलक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आइतबार मुस्ताङ, मनाङ र बाजुरामा एक जना पनि सक्रिय संक्रमित छैनन् । 



लोकप्रिय समाचार
नयाँ