भक्तपुर । कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीय निरु कासिछ्वा (नागा) को हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले हत्याको जाहेरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।
१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि कुटपिटबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ ।
यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले पटकपटक कुटपिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजू विकास कासिछ्वा बताउछन् ।
सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए ।
प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको हत्या भएको जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिए ।