arrow

प्रचण्डलाई मुखभरीको जवाफ दिएर ओली पुगे सभाहल निरीक्षणमा 

प्रचण्डले मोलमोलाई गरेर काम गर्न नदिएको प्रधानमन्त्रीको आरोप 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
kp-godawari-hall-visit.jpg

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सधै सत्ताको वार्गेनीङ गरेर सरकारको काममा नअल्मल्याउन प्रचण्डलाई घुमाउरो पाराले चेतावनी दिदै अन्यथा आफ्नो बाटो तय गर्न मुखभरीको जवाफ दिएका छन्। प्रचण्डलाई आफ्ना दुतहरुमार्फत पनि सोहि लाइनको सन्देश पठाउँदा पनि मोलमोलाई गरिरहेको बुझाइपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटारमै बोलाइ सो कुरा प्रष्टसँग राखेका हुन्। बालुवाटार निकट स्रोतका अनुसार प्रचण्डलाई आफ्नो कुरा राखेपछि ओली सरकारको देखिने काम केहि नभएको भन्दै विरक्तिएका थिए। सबै अप्ठ्यारो मात्र पार्न आउँछन अध्यक्ष भनेकै त यस्ता छन कसरी काम गर्न सकिन्छ भन्दै उनले गुनासो पोखे। 

प्रधानमन्त्री ओलीका सदावहार सहयोगी कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री तनावमा रहेको देखेपछि आफ्नो मन्त्रालय अन्तर्गत पर्ने गोदावरीस्थित सभा हलको अवलोकन गर्न सुझाए । प्रधानमन्त्रीले पनि मन बहलाउन बालुवाटारबाट बाहिर जाने सो प्रस्तावलाई सहजै स्विकारे । बालुवाटारबाट मन्त्रालयका अधिकारी र ठेकेदार कम्पनी सबैलाई खबर गरियो। निर्माणधिन आयोजनास्थलमा प्रधानमन्त्री आउने भएपछि सरकारी अधिकारीहरुले फुलमालाको व्यवस्था पनि गरे। सबै तयारी गरेपछि श्रेष्ठले प्रधानमन्त्री ओलीलाई जाहेर गरे अनि आफै सवारी मन्त्री भएर प्रधानमन्त्रीलाई लिएर आयोजनास्थलमा पुगे। 

गोदावरी पुगेका प्रधानमन्त्रीले हालसम्मको प्रगतिको प्रशंसा गर्दै अबको तीन महिना भित्र सम्पन्न गर्न निर्देशन दिए । उनले आफ्नो सरकारको पालामा भएका देखिने काममा यसलाई राख्न चाहेको उनको भनाइबाट पनि बुझ्न सकिन्थ्यो। उनले अबका दिनमा महत्वपुर्ण कार्यक्रम यही हलमा गर्नसक्नेगरी तयारी गर्न आग्रह गरे । प्रधानमन्त्रीको कुरा भइमा खस्न नपाउँदै शहरी विकास मन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात फागुन ३ गते उद्घाटन गर्नेगरी तयार गर्न निर्देशन दिए । माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई श्रेष्ठले निर्देशन दिए। 

२०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन सो हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाख रुपियाँमा ठेक्का पाएको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउदै हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराए । ४३ रोपनी मध्य ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भैरहेको छ ।

कोभिड–१९को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउदै गेलालले भन्नुभयो–अब माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेका छौ । मन्त्री श्रेष्ठले कोभिडको कारण उत्पन्न समस्या अब समाधान भैसकेको बताउदै स्वाथ्य मापदण्ड अपनाएर थप मजदुर परिचालन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिए । खराब बाटोको कारण त्यहापुग्न समस्या भएपछि प्रम ओलीले माघ महिनाभित्र बाटो सम्पन्न गर्न समेत निर्देशन दिए । 



लोकप्रिय समाचार
नयाँ