arrow

ज्ञवालीका कुरा सुनेर झस्केका प्रचण्ड प्रधानमन्त्री ओलीका कुरा सुनेर छ्याङ्ग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
oli-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेट गरे लगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीका दूतहरुले पनि भेटघाटलाई तिब्रता दिए । दशैंको टिका सकाएपछि गत मंगलबार माधव नेपालसँग अढाइघण्टा विताएका प्रधानमन्त्री ओलीले पार्टीको एकल नेतृत्व प्रचण्डलाई दिन नसकिने जनाउँदै आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि तपाईलाई मेरो समर्थन रहन्छ भनेर फकाउने कोसिस गरेका थिए । तर नेपालले महाधिवेशन आइनसकेको र अहिले नै नेतृत्वको विषयमा कुरा नगरौ बरु पार्टीलाई मिलाएर लैजान र पार्टीभित्र समान व्यवहार गर्न आग्रह गरेका थिए ।

त्यहीबेला ओलीले कात्तिक १५ देखि हुने केन्द्रीय कमिटीको बैठक रोक्ने योजना सुनाएका थिए । जवाफमा माधव नेपालले दाहालको स्वीकृति लिन सुझाए । त्यही क्रममा बुधबार विहान विष्णु पौडेल, दिउसो सुवास नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनीहरुले दुवै अध्यक्षले संवाद गर्नुपर्ने र पार्टी र सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे । तर प्रचण्डले सचिवालय बैठक डाक्नुपर्ने सबै विषय अब एकल भेटघाटमा नहुने भन्दै उनीहरुलाई टार्दै गए । विहिबार विहान लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेर पार्टी भित्रको विवाद समाधान गर्न कार्यकारी अध्यक्षको हैसियतले अघि बढ्न सुझाव मात्रै दिएनन दुवै अध्यक्षले मिलेर पार्टी सञ्चालन गर्न आग्रह गरे । त्यही बेला ओलीले प्रचण्डलाई फोन गरेर बालुवाटारमा संवादका लागि निम्ता दिए तर प्रचण्डले बालुवाटार जान मानेनन । उनले जनार्दन शर्मालाई कोरोना संक्रमण भएको भन्दै टारिदिए । 

शुक्रबार भने प्रचण्डका लागि अलिक बेग्लै खालको माहोल सिर्जना भयो । शुक्रबार दिउसो ओलीकै प्रतिनीधिको रुपमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली खुमलटार पुगे । उनले सिधै दुवै अध्यक्ष मिलेर पार्टी सञ्चालन गर्न आग्रह गरे । ‘तपाई दुवै जनाले पार्टी एकता गर्नु भएको हो अब पनि दुबै जना मिलेर पार्टी सञ्जालन गर्नुस अब यसरी सधै संवादहिन भएर बस्नु उपयुक्त छैन’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए । उनले यस्तै अवस्था रहने हो भने पार्टीभित्र बद्लाको भावना बढ्दै जाने र भोलिका दिनमा झन संकट उत्पन्न हुने समेत बताएका थिए । ज्ञवालीले त्यतिमात्रै नभइ दुवै अध्यक्षले समीकरण बनाउने कुरा छोड्नु पर्नेमा प्रचण्डलाई सम्झाए । यो बेला समीकरण बनाएर एकले अर्कालाई पेल्ने होइन समीक्षा गरेर अघि बढ्नु पर्छ समीकरण गर्ने हो भने पार्टी एकताको औचित्य नहुने ज्ञवालीले बताएका थिए । प्रदिप ज्ञवालीको सो भनाई पछि भने प्रचण्ड झस्केका थिए ।

‘स्थायी कमिटीको पछिल्लो बैठकले अध्यक्षहरूको स्पष्ट कार्यविभाजन गरेको छ । कुन अध्यक्षले के काम गर्ने परिभाषितसमेत भइसकेको छ । कसरी गर्ने, कहाँ परामर्श गर्नुपर्ने, कसरी सहमति जुटाउने, कुन अध्यक्षको कामको फाँट कहाँ हो भन्ने पनि परिभाषित छ । त्यो परिभाषाअनुसार काम गर्दा समस्या उत्पन्न हुन्छ जस्तो लाग्दैन । सबैले आफूलाई तोकिएको काममा केन्द्रित हुनुपर्छ’, प्रदिप ज्ञवालीले प्रचण्डलाई त्यसो भनेपछि शुक्रबार नै प्रचण्डले ओलीले अब पार्टी विभाजनको कुरा गर्छन भन्ने लागेको थियो । यद्यपि शनिवार माधव नेपालसँग भेटहुँदा यो विषयनै नउठाई ओलीलाई भेट्न वालुवाटार पुगेका थिए । 

त्यसपछि दुई अध्यक्षको भेट सौहार्द बन्न सकेन । अध्यक्ष ओलीले आइतबार बिहान बालुवाटारमा आफू निकट नेतासँग पार्टी विभाजन गरेर जाने विषयमा छलफल गरेका थिए । उनले संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतक देव गुरुङलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतको दावी छ । यद्यपि उनी रामबहादुर थापा वादल निकट भएकाले ओलीले तत्कालै त्यस्तो कदम चाल्न नसक्ने अन्य नेताहरुको ठम्याइ छ । ओलीको छलफलका बारेमा जानकारी पाएका प्रचण्डले दिउँसो आफ्नो निवास खुमलटारमा सचिवालयका ६ जनालाई बोलाएर पार्टीमा विकास भएको पछिल्लो घटनाक्रमका विषयमा छलफल गरे । खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले हिजो ओलीसँग भएको भेटवार्ता र बिहान फोनमा भएको कुराकानीको विषयमा व्रिफीङ गरेका थिए । त्यसक्रममा ओलीले अलग अलग बसौ भनेको भन्दै नेताहरुलाई अब के गर्ने भनेर राय समेत मागेका थिए । 

वालुवाटार निकट स्रोतका अनुसार भने शनिवार दिउसो ओली–प्रचण्डको भेटमा ‘मुलुकमा संकट छ, म सरकारको काममा केन्द्रीत हुनपर्ने मान्छे तपाईलाई मनाउन लाग्दा लाग्दै समय वित्यो, सधै तपाईको कुण्ठा सुन्दा सुन्दै सरकारको काम समेत प्रभावित बनेको छ, तपाई सरकारलाई असहयोग गर्नु हुन्छ, असन्तुष्टि मात्रै पोख्नु हुन्छ , पार्टीमा मैले तपाईलाई दिनुपर्ने भन्दा बढी नै स्पेश दिएको छु सरकारमा पनि राम्रै स्पेश दिएको छु यस्तो अवस्थामा तपाईलाई मात्रै मिलाउने काम हुन थाल्यो सरकारको काम नै तपाईलाई मिलाउने, तपाइका कुण्ठा सुन्ने मात्रै हुन थाल्यो यस्तो सधै भैरहे बरु सल्लाहमै अलग अलग बसौ आफ्नोआफ्नो तरीकाले काम गरौ’, भनेका थिए । त्यसपछि प्रचण्डले सचिवालय बैठक बोलाएर यही विषयमा छलफल गरौ भनेका थिए ।



लोकप्रिय समाचार
नयाँ