arrow

भ्रष्टाचार र कोरोना महामारी नियन्त्रणमा असफल सरकारविरुद्ध नेविसंघको प्रदर्शन

नेपाल प्रहरी नेकपा प्रहरीमा परिणत भएको आरोप, पीडित विद्यार्थीका परिवारद्धारा मानवअधिकार आयोग लगायतमा उजुरी

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
NEBISANGH-ANDOLAN1.jpg

काठमाडौं । भ्रष्टाचार र कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शनसहित कोणसभा गरेको हो । 

सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निःशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । 

उनले भने, ‘हाम्रा साथीहरुलाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ । कसैलाई पनि नियन्त्रणमा लिएर कुटपिट गर्नु यातना दिनु गैरकानुनी हो त्य्वस्ता प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्छ । यो पन्चायती ब्यबस्था हैन गणतन्त्र हामीले नै लडेर ल्याएको हो । हामी सबैलाई खबरदारी गर्न चाहन्छौं, कानुनभन्दा माथि कुनै फुली छैन।’

अर्का महामन्त्री दीपक भट्टराईले निर्दोष नेताहरुलाई झुटा मुद्दामा फसाउने प्रपञ्च स्वरुप विभिन्न ठाउँबाट पक्राउ गरी दिपक ओझा लगायत आफ्ना ३ जना नेताहरुलाई प्रहरी हिरासतमा कोरोना भाइरसबाट संक्रमित गराएको भन्दै सो को जिम्मेवारी पनि प्रहरी अधिकारीले नै लिनुपर्ने भन्दै नेपाल प्रहरी नेकपा प्रहरीमा परिणत भएको बताए । 

महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवाली र उनको नेतृत्वमा रहेका प्रहरी अधिकृतहरुले हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई चरम यातना दिएको नेविसंघले जनाएको छ ।
 
मानवअधिकार सम्बन्धी विश्वब्यापी मान्यता र राष्ट्रिय–अन्तर्राष्ट्रिय घोषणालाई समेत लत्याउँदै हिरासतभित्र आफ्ना विद्यार्थी नेतालाई चरम मानसिक र शारीरिक यातना दिइनु अत्यन्तै गैरन्यायिक भएको भन्दै सो बारेमा परिवारले राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य निकायमा उजुरी गरिसकेको र यातना दिने अनुसन्धान अधिकृत र सम्बन्धित प्रहरी कार्यालयका अधिकारीलाई यातना क्षतिपूर्ति सम्बन्धी कारबाहीका निम्ति आफन्त र नेपाल विद्यार्थी संघले थप कदम चाल्ने पनि नेविसंघले बताएको छ ।  

नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएकोमा पनि खेद प्रकट गरेको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ । 

प्रदर्शनपछि संघका उपाध्यक्ष मुक्तिराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको विरोध सभालाई महामन्त्रीहरु तिमल्सिना, भट्टराई, युबराज पाण्डे र मनोज वैद्य लगायतले सम्बोधन गर्दै सरकरी असंवेदनशीलता, ज्यादति र प्रहरी दुर्व्र्यवहारको भत्सर्ना गरेका थिए ।

भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै नेविसंघले काठमाडौं लगायत देशको विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेको छ ।



लोकप्रिय समाचार
नयाँ