नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठूलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बीओपी भुजहवाले विशेष सुराकीको आधारमा एक भारतीय नागरिकलाई ठूलो मात्रामा लागू औषधसहित पक्राउ गर्न सफल भएको हो ।
सरावल गाउँपालिका वडा नं ७ भन्सार टोलको पश्चिम दिशाको खेत हुँदै युपी ५६ एडी ३८६० नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्ति लागू औषधसहित जाँदै गरेको अवस्थामा पिकेट गस्ती टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्ने जिल्ला महाराजगंज गडौर बजारको बर्ष २७ का राजकुमार गुप्ता हुन् । बीओपी भुजहवाबाट खटिएको सीमा पिकेट ड्युटी टोलीले चेकजाँच गर्दा निजको साथबाट डाइजेपाम २ एमएलको ५४५ वटा, नुर्फिन २ एमएलको ५४० वटा, फेनारगन २ एमएलको ५४५ वटा र ओनरेक्स सिरफ सय एमएलको २० वटा लागूऔषध बरामद गरेको हो ।
हाल निज व्यक्तिलाई नियन्त्रणमा लिई लागूऔषध र मोटरसाइकलसहित आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय परासी बुझाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलासपुरका सूचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।
जिल्लाको भुजहवा नाका लागूऔषध ओसारपसारको मुख्य नाकाको रुपमा लिइने गरिन्छ ।