arrow

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले समूहसहित गरे उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
kishor-pradhan.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्। ललितपुरको भिभान्त होटलमा सोमबार कार्यक्रम गर्दै प्रधानले आफ्नो समूह सहित उम्मेदवारी दर्ताको घोषणा गरेका हुन्। घोषणा पछि प्रधानले आफ्नो समूहका उपाध्यक्ष सहित उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानलाई वहालवाला वरिष्ठ उपाध्यक्ष एवं हुनेवाला अध्यक्ष शेखर गोल्छाको साथ छ। गोल्छाले आफू किन प्रधान समूहको पक्षमा लागेको समेत कार्यक्रममा प्रष्ट पारे। घोषणा कार्यक्रममा गोल्छाले इतिहासकै कठिन अवस्थामा आफूले नेतृत्व सम्हाल्न लागेको उल्लेख गर्दै भने- 'महासंघमा राजनीतिको क्यान्सर छ। अब त्यो निकाल्नु पर्छ। महासंघमा जसको केही काम छैन उसलाई निकाल्नु पर्छ। उसको भूमिकालाई अब शून्यमा झार्नु पर्छ।' 

गोल्छाले संकेत संकेतमै कतिपय पूर्व पदाधिकारी बिरुद्ध लक्षित सो अभिव्यक्तिलाई धेरै व्यवसायीले कडा टिप्पणीको रुपमा लिएका छ्न्। गोल्छाले आफ्नो कार्यकालको लागि भिजन बनाइसकेको उल्लेख गर्दै अब राजनीति नभई काम गर्ने बताए। 

कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सबै उम्मेदवारलाई शुभकामना दिए। कोरोनाबाट सुरक्षित हुँदै चुनाव सम्पन्न गर्नुपर्ने उनले बताए। 
बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको मन्दिर जस्तो संस्थामा पुजारी बनेर पुजा गर्न चाहेको जनाउँदै भने, 'सबै व्यवसायको समस्या समाधान गर्न मेरो समूह सक्षम छ।'

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्।
यसअघि अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी चन्द्र ढकाल र उनको समूहले उम्मेदवारी दर्ता गराइसकेको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्था छ । बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।



लोकप्रिय समाचार
नयाँ