काठमाडौं। बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले बार्षिक बैठकको समापन गर्यो , जसले आउँदो पञ्चवर्षे योजना र २०३५ को विकास रुपरेखा सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपतिय चुनावका नजिक कसले चुनाव जित्छ भन्ने कुरा भन्दा पनि चीनले अमेरिकामाथिको निर्भरता कम गर्ने रणनीति वैठकले लिएको छ।
चीनले अघि सारेको नयाँ पञ्च वर्षे योजनाको मुख्य दुई खम्बा भनेको ‘प्रविधिमा आत्मनिर्भर हुने’ र ‘डुअल सर्कुलेशन’ रणनीतिका आधारमा ‘घरेलु बजारको विकास’ गर्ने हुन् । पछिल्ला केही महिनायता अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रको परनिर्भरताको पर्दाफास गरिदिएको छ । यसै खतराबाट बच्न चीनले अब, प्रविधिमा ‘आत्मनिर्भर’ किसिमको रणनीति अपनाउन थालेको छ ।
चिनियाँ प्रमुख प्रविधि कम्पनीहरुमाथिको अमेरिकी प्रतिबन्ध निकै परिणात्मक रहेको थियो । अमेरिकी प्रतिबन्धबाट चीन अमेरिकामाथि सेमिकन्डक्टर र अन्य कुराहरुको लागि कति धेरै निर्भर छ भन्ने कुरा देखाएको छ । यसैपछि अमेरिकामाथिको आफ्नो निर्भरता हटाउनकालागि चीनले टेक्नोलोजिकल सेल्फ रिलायन्स योजना अघि सारेको छ । तर यो सफल हुनेमा धेरै अफ्ठयारा रहेको मानिन्छ ।
प्रविधिमा आत्मनिर्भरता
अहिले मात्रै हैन्, दुई दशकदेखि चिनियाँ कम्पनीहरु प्रविधिमा अमेरिकामाथिको निर्भरता हटाउन प्रयास गरिरहेका छन् । तर ती कम्पनीहरुले सफल भएका छैनन् र हुन पनि गाह्रो रहेको मानिन्छ । किनकी कुनै पनि चिनियाँ कम्पनीहरुले नवप्रवर्तक अथवा आविष्कारक छैनन् । चीनले प्रत्येक अमेरिकी कम्पनीहरुको नक्कल गरेर त्यहाँ उत्पादन गर्ने गरेको अमेरिकी आरोप छ । त्यसकारण कुनै पनि चिनियाँ कम्पनीहरु अमेरिकाभन्दा धेरै आविष्कारक हुन सक्ने अवस्था छैन् ।
अर्को कुरा भने स्वतन्त्र अभिव्यक्ती नभएको समाज, आइडियाहरुका लागि स्वतन्त्रता नभएको समाज, वहसका लागि स्वतन्त्रता नभएको कम्युनिस्टले शासन गरेको समाजमा नयाँ आइडियाको विकास हुने सम्भावना पनि निकै न्युन हुन्छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टले चीनको नयाँ पञ्चबर्षे योजनाको प्रतिवेदन बनाउने अधिकारीहरु नै यो योजना सफल हुनेमा विश्वस्त नभएको बताउँछ । तीमध्येका एक अधिकारीले भनेका छन्, ‘नयाँ प्रविधिको विकास गर्नु भनेको रोड र पुल बनाउनु जस्तो हैन्, जुन चीनले धेरै लगानी गरेर आविष्कार गर्न सकोस । यो योजनाको प्रतिफल आउने सम्भावना निकै न्युन छ।’
‘डुअल सर्कुलेशन’
चीन सरकारले स्थानीय बजारमा चिनियाँ उत्पादनको उपभोग अथवा माग बढाउने रणनीति अघि सारेको छ । यसको अर्थ चीनले निर्यातलाई यथावत राख्ने तर, घरेलु उपभोग अथवा खपतलाई बढाउने रणनीति अघि सारेको हो । आन्तरिक र वाह्य बजारमा उत्पादनको माग बढाउने रणनीति नै डुअल सर्कुलेशन रणनीति हो। निकट भविष्यमा चीनको निर्यातमा कमी आउने डरले चीनले स्थानीय बजारमा खपत बढाउन खोजिरहेको देखिन्छ । यसबाट चीनले उत्पादन र खपतलाई सन्तुलनमा राख्न खोजिरहेको हो।
चीनको यो रणनीति नयाँ नभएको चिनियाँ कम्युनिस्ट पार्टीको वेबसाइट सीसीटीभीले उल्लेख गरेको छ । सीसीटीभीका अनुसार चीनले सन् २००६ मै आन्तरिक बजारमा चिनियाँ खपत बढाउने योजना अघि सारेको थियो । तर, उक्त योजना सफल हुन सकेको छैन् । खासमा चीनले अहिलेसम्म प्रगती गरेको तरिका निर्यात र लगानी हो । चीनले विदेशी योजनामा लगानी गर्छ, र आफ्नै देशका कामदार र मेशिनको प्रयोग गरेर त्यो देशको पैंसा आफ्नो देश भित्राउँदै आफ्नो अर्थतन्त्र बढाउँछ । निर्यात र लगानी गरेरै चीनले सन् २००५ मा २ ट्रिलियन रहेको अर्थतन्त्र २०२० मा करिब १५ ट्रिलियन पुर्याएको छ ।
तर, पछिल्लो समय चीनको नीतिको पर्दाफास हुन थालेसँगै चीनको अर्थतन्त्र अब पहिलाको जस्तै उग्ररुपमा अघि बढ्न नसक्ने संकेत देखिएको छ । यसकारण चीनले अनेकौं रणनीतिहरु अघि सारिरहे पनि अन्तराष्ट्रिय विश्लेशकहरु नयाँ पञ्चेवर्षे योजना भनिएको चिनियाँ सपना पूरा नहुने संकेत देखिएको दावी गर्न थालेका छ्न्।