मलंगवा । भारतबाट नेपाल तर्फ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले सर्लाहीको बलराबाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको छ । नेपाल भारत सीमा नजिकै बलराबाट ट्याक्टरमा भारतबाट ल्याउँदै गरेको बिस्फोट पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएका छन् ।
दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बिस्फोटक पदार्थ बरामद गरेको हो । ज.१ त २१७९ नम्बरको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको १० क्विन्टल ८८ किलो बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद गरिएको बिस्फोट पदार्थमा अठईसा, झिरझिरे, राधाचक्र र नागिन लागयतका पटका रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिएका छन् ।
आइतवार बिहान अन्दाजी पौने ११ बजेको समयमा बलरा नगरपालिका वडा नं. ८ स्थित सडकमा रोकि राखेको ट्याक्टरलाई चेकजाँच गर्दा बिस्फोटक पदार्थ भेटिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन् । प्लाष्टिकको त्रिपालले ट्याक्टरको टेलर छोपी राखेको अवस्थामा बिस्फोटक पदार्थ बरामद गरिएको हो ।
२० ओटा कार्टुन र ४ ओटा बोरामा प्याक गरेर बिस्फोटक पदार्थ ट्याक्टरमा लोड गरिएको थियो । प्रहरीलाई देख्ने बित्तिकै ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । बिस्फोटक पदार्थ ल्याउने चालकलाई खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन ।
चालक फरार रहेपनि यातायात कार्यालयबाट सबारी धनीलाई पत्ता लगाई चालक र तस्कर समेत पत्ता लाग्ने प्रहरी उपरीक्षक राठौरले दाबी गरेका छन् । चाडपर्व नजिकिएसगैं प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
चाडपर्व नजिकिएसगैं भारतको विभिन्न नाकाबाट पटकाहरु भित्रिरहेको जनगुनासो पनि बढेको छ ।