arrow

किशोर प्रधानको टिममा आफुखुशी नाम राखेको भन्दै महासंघका सदस्यहरुद्धारा आपत्ति  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
kishor-pradhan.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले उपाध्यक्ष तथा सदस्यहरु सहितको टीम घोषणा गरेसँगै विरोध सुरु भएको छ । प्रधान प्यानलले आज ललितपुरको भिभान्ता होटलमा उम्मेदवारी दर्ताको घोषणा गरेसँगै कतिपय सदस्यहरुले आफुहरुसँगै कुनै सल्लाह नै नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै विरोध जनाएका हुन् । 

विशेषगरी जिल्ला नगरबाट उठ्ने सदस्यहरुले आफुसँग कुनै सल्लाह नै नगरी प्रधान प्यानलले आफ्नो नाम उम्मेदवारी दर्ताको लागि उद्घोष गरेको भन्दै विरोध जनाएका छन् । आफ्नो टीमबाट चुनाव उठ्ने सदस्यहरुको संख्या नपुगेर प्रधान प्यानलले आफुखुशी नाम राखेर उम्मेदवारी दर्ताको घोषणा गरेसँगै विरोध सुरु भएको हो । 

प्रधान प्यानलबाट जिल्ला नगरतर्फको सदस्यमा उम्मेदवारी दर्ताको घोषणा गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष अशोक ताम्राकारले किशोर प्रधान प्यानलले आफ्नो नाम राखेको भन्दै विरोध जनाएका छन् । ‘म अहिले जिल्लामै छु, चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेदवारी दर्ता गराउनका लागि बुधबार काठमाडौं आउँदैछु,’ उनले भने, ‘कोसँग सल्लाह गरेर के आधारमा प्रधान प्यानलमा मेरो नाम राखियो म आफैलाई थाहा छैन ।’ विना सरसल्लाह प्रधान समुहले आफ्नो नाम राखेर गलत काम गरेको समेत उनको भनाई थियो ।

यसैगरी दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले पनि प्रधान प्यानलले विना कुनै सल्लाह वा सहमति वेगर आफ्नो नाम टीममा समावेश गरेको भन्दै विरोध जनाएका छन् । ‘म आफै दार्चुला उद्योग वाणिज्य संघको अध्यक्ष हुँ, म अहिले पनि दार्चुलामै छु,’ उनले भने, ‘मसँग कुनै सल्लाह नै गरी किशोर प्रधान प्यानलबाट जिल्ला नगर सदस्यमा कसरी मेरो नाम आयो म आफै अचम्मित छु यसमा मेरो विरोध छ ।’ साथै महासंघको आसन्न निर्वाचनमा सदस्य पदमा दार्चुलाबाट उम्मेदवार उठ्ने वा नउठ्ने भन्ने विषयमा अहिलेसम्म कुनै टुङ्गो नलागेको व्यक्तिलाई प्रधान प्यानलले आफुखुशी उम्मेदवार बनाउँदै नाम राख्नु गलत कार्य भएको उनको भनाई थियो । 

यसैगरी ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले पनि प्रधान प्यानलले आफ्नो नाम समावेश गरेको भन्दै आपत्ति जनाएका छन् । ‘म अहिले पनि ताप्लेजुङ्मै छु कसरी भयो प्रधान प्यानलबाट मेरो उम्मेदवारी दर्ता ?,’ उनले भने, ‘म आफै २-३ दिन जिल्ला नगरको तर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराउन काठमाडौं आउँदैछु तसर्थ प्रधान प्यानलबाट मेरो उम्मेदवारी दर्ता भन्दै नाम आउनु आपत्तिजनक छ ।’ साथै हालसम्म उम्मेदवारी दर्ताका लागि प्रधान प्यानलले आफुसँग कुनै सल्लाह नै नगरेको समेत उनको भनाई थियो । 

यसैगरी प्रधान प्यानलमा नाम राखिएको अन्य जिल्ला नगरका सदस्यहरुले पनि प्रधान प्यानलबाट आफ्नो नाम राखेको भन्दै विरोध जनाएका छन् । कतिपय सदस्यले लिखित रुपमै प्रधान प्यानलमा आफुहरु नरहेको जानकारी दिन लागेका छन् । विशेषगरी प्रधान समुहले अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलका उम्मेदवारलाई पनि आफ्नो प्यानलको भन्दै आफुखुशी नाम समावेश गर्न थालेपछि स्वयं उम्मेदवारहरुबाटै बिरोध सुरु भएको हो । प्रधान प्यानलले यस अघिको निर्वाचनमा पनि टीम पुर्याउन नसकेपछि अर्का प्ररत्यासीको प्यानलको उम्मेदवारको नाम समावेश गर्दै आफुखुशी उम्मेदवारी घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ