arrow

इन्डियन प्रिमियर लिगः दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफ, एक टिमको छिनाफानो हुँदै 

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
ipl-delhi4.jpg

काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । अजिन्क्या रहानेले ६० तथा शिखर धवनले ५४ रन बनाए ।

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनाएको थियो । देबदुत पडीकलले ५०, एबी डी भिलियर्सले ३५ तथा कप्तान विराट कोहलीले २९ रन बनाए । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

समीकरण र अंक तालिका
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो ।

दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा मुम्बई इण्डियन्ससँग खेल्नेछ । मुम्बईको १४ खेलबाट १८ तथा दिल्लीको १४ खेलबाट १६ अंक छ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

दिल्लीसँग पराजित बैंगलोर प्ले अफमा पुगेको छ । समान १४ अंक भए पनि चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो । 

अब प्लेअफमा पुग्ने एक टिमको छिनोफानो हुन बाँकी छ । कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिम प्लेअफमा पुग्नेछ । उक्त टिमसँग क्लालिफायर्सका लागि बैंगलोरले खेल्नेछ । 

प्लेअफ पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय गर्दैछ । उक्त खेल मंगलबार हुँदैछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुँदैछ । 

यो खेलमा मुम्बईले जित निकालेमा कोलकाता प्ले अफमा पुग्ने छ । हैदराबादले जित निकालेमा हैदराबाद प्ले अफमा पुग्नेछ । 



लोकप्रिय समाचार
नयाँ