काठमाडौं। नेकपाको विवाद बढ्दै जाँदा नेकपाका प्रभावशाली नेताहरुका छोराहरु एकाएक सक्रिय भएका छन् । उनीहरु पार्टी विवाद मिलाउन भन्दै आफ्ना पिता तथा पिताका सहकर्मी नेताहरुमार्फत दुई पार्टी अध्यक्षलाई दवाव बढाउन थालेका छन् । नेकपाको एकता टुट्न नदिन भन्दै अहिले पूर्व माओवादी नेताका छोराहरु अलि बढी नै सक्रिय देखिएका छन् ।
उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापाका छोरा प्रतिक थापा, गृहमन्त्रीका सल्लाकार इन्द्रजीत राईका छोरा निरज राई, वामदेव गौतमका छोरा हरिश गौतम, पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरा र झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल अहिले नेकपा बचाउ अभियानमा दौडधुपमा लागेका छन् । उनीहरुले यस बीचमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पटकपटक धोका पाएका सचिवालय सदस्य वामदेव गौतमसँग भेटिसकेका छन्। उनीहरुले प्रचण्ड निकट रहेका जनार्दन शर्मासँग पनि भेट गरेका छन् । यि दुबै भेटका अतिरिक्त नेकपाका दोस्रो तहका नेताहरुमार्फत उनीहरुले पार्टी एकताको पक्षमा रहन प्रचण्डलाई दवाव बढाउन खोजेका छन् ।
नेतापुत्रहरु एकातिर क्रियाशिल रहँदा अर्कातिर भने चिनियाँ कम्पनीका एजेण्ट र व्यापारीहरु पनि चिनियाँ इच्छा अनुसार नेकपाको एकता कायम राख्न सक्रिय रहेका छन् । यो पटक अघिल्ला पटक झै चिनियाँ राजदुत होउ यान्छी सक्रिय नदेखिएपनि दुतावासकै इच्छा अनुसार विभिन्न पृष्ठभूमीका विभिन्न व्यक्तिहरु सक्रिय रहेको नेकपाका एक सचिवालय सदस्य निकट स्रोतले हाम्राकुरालाई जानकारी दिएको छ। दुतावासकै कतिपय अधिकारीहरु पनि नेकपाको विवाद मत्थर पार्न खटिएको र उनीहरुले नेकपामा धेरै नेताहरुसँग भेटघाट गरिरहेको बताइएको छ ।
नेकपाको विवादलाई बढ्न नदिन र पार्टी एकताको पक्षमा भन्दै चिनियाँ कम्पनीहरुका नेपाली एजेण्ट दिपक भट्ट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैधहरु अहिले मिसन नै बनाएर लागेको स्रोतले बताएको छ । यसैगरि लि भन्ने एक चिनियाँ व्यापारी पनि यो अभियानमा जुटेको स्रोतको दावी छ । पार्टी एकिकरणमा भूमिका खेलेको चीन कुनै पनि हालतमा नेकपालाई फुट्न नदिने रणनीतिमा रहेको छ। तर परिस्थितिले एकैठाउँमा बस्ने अवस्था कम हुँदै गएको देखिएको नेताहरु नै स्विकार्छन् ।
वैशाख यता ७ महिनामा नेकपाको विवाद ३ पटक सघन ढंगले उठेपछि यतिखेर नेकपाका कार्यकर्ताहरु पनि विलखबन्धनमा परेका छन् । पार्टी एकताको सूत्रधार चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधीको रुपमा रहेको चिनियाँ दुतावासका अधिकारीहरु पनि कहिले दायाँ र कहिले वायाँ भइरहेको नेकपाको अवस्था देखेर छक्क परेको नेकपाका एक नेताले बताए । ती नेताका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा झै कडा अनुशासन हुने ठानेका चिनियाँ अधिकारीहरु नेकपाको हालत तथा पार्टी नेतृत्वको कमाण्डमा पार्टी नभएको देखेर गुनासो समेत गर्दै आएका छन् । उनीहरुले असारमा प्रधानमन्त्रीले ल्याएको दल सम्वन्धी अध्यादेशका बारेमा असन्तुष्टी जनाएका थिए ।
प्रधानमन्त्रीको कार्यशैलीले नेकपाको एकतामा असर गरेकोमा चिन्तित चिनियाँहरु प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्ट रहेको पाएको ति नेताको दावी छ। जतिसुकै असन्तुष्ट रहेपनि कुनै पनि शर्तमा पार्टी विभाजन भने हुनुहुन्न भन्नेमा चिनियाँहरु पाएको उनले बताए । यसका लागि केपी ओलीले नमानेपनि प्रचण्डले मानेर पार्टीलाई कसरी एकजुट बनाइराख्न सकिन्छ भनेर उनीहरुले पार्टी एकताको सूत्रहरु खोज्न शुरु गरेका छन् भने विभिन्न तहमा परिचालन पनि बढाएका छन् । नेता पुत्रहरुलाई पार्टी एकता भएन भने पार्६ीको सँगै तिमिहरुको पनि राजनीतिक र व्यवसायिक भविष्य सकिन्छ भनेर सचेत गराएपछि उनीहरुले पनि सक्रियता बढाएको स्रोतको दावी छ ।