काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठविरुद्ध उजुरी परेको छ । महासंघका वर्तमान उपाध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य महासंघको कार्यकारिणी निर्णयविपरीत प्रतिनिधि पठाएपछि उनीविरुद्ध उजुरी परेको हो । यो उजुरीसँगै उनको उपाध्यक्षको उम्मेदवारीसमेत संकटमा परेको छ ।
नेपाल औषधी उत्पादक संघ (एप्पोन) का निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले नेपाल उद्योग वाणिज्य महासंघमा उजुरी हालेका हुन् । उजुरीमा निर्वाचन समितिलाई वोधार्थ गरिएको छ । दाहालले हाम्राकुरासँग कुरा गर्दै आफूले विधानअनुसार महासंघ चल्नुपर्छ भनेर निवेदन दिएको बताए । उनले भने, ‘वस्तुगत संगठनबाट हामीले उमेशजीलाई तीन पटक महासंघमा पठाइसक्यौं महासंघमा प्रतिनिधित्व गर्नका लागि । र यो पल्ट चाहिँ निवर्तमान म हुने बित्तिकै सर्वसम्मतिले अबदेखि एफएनसीसीमा भाग लिने प्रतिनिधिको रुपमा निवर्तमान अध्यक्षलाई दिने भनेर हाम्रो कार्यसमितिको ४९ औं बोर्डले पास गरिसक्या थियो त्यतिखेर ।’
उनले अगाडि थपे, ‘मैले साथीहरुलाई भन्या थिएँ म चाहिँ महासंघमा यसपालिबाट कार्यसमितिमा उठ्छु । यो बीचमा उमेशजीले महासंघमा वस्तुगतबाट जाने वा एप्पोनबाट कुनै कुरा पनि राख्नु भएको थिएन । उहाँ एप्पोनमा साधारण सदस्य पनि हुनुहुन्न । उहाँको कम्पनीका तर्फबाट पृथ्वीराज भण्डारी आउनु हुन्छ । उहाँ पनि त्यो मिटिङमा हुनुहुन्थ्यो । त्यही मिटिङमा एप्पोनको निवर्तमानलाई एफएनसीसीआईमा पठाउने निर्णय भा’थ्यो ।’
उनले थप स्पष्ट पार्दै भने, ‘मलाई लाग्छ एफएनसीसीआईको विधान चेन्ज गर्ने र अध्यक्षमा डाइरेक्ट लड्ने बनाउने (अहिले वरिष्ठ सीधै अध्यक्ष हुने नियम हटाएर) र आफू चाहिँ वरिष्ठमा उठ्ने प्लानिङ थियो होला । त्यही भएर त्यतिबेला उहाँले केही कुरा गर्नुभएन । जब त्यो सफल नभइसकेपछि उहाँले एक्कासी आएर उहाँले ल मलाई फेरि पठाउनु पर्यो भनेर साथीहरुसँग कुरा गर्नुभएछ । साथीहरुले कसरी मिल्छ त हामीले निर्णय गरिसक्यौं भन्दा हैन दुई जना जान मिल्छ एउटा संघबाट उपाध्यक्षमा एक जना जना र एक जना सदस्यमा जान मिल्छ भनेर उहाँले भनेपछि कार्यसमितिले दुई जना जान मिल्छ भने हामीलाई केही आपत्ति छैन हाम्रो मूख्यमा निवर्तमानलाई पठाउनु पर्ने हो तर दुई जना जान मिल्छ भने तपाई पनि जानुस् भनेर कार्यसमितिले एउटा के निर्णय गर्यो भने सदस्यमा दीपकप्रसाद दाहाल निवर्तमान अध्यक्षलाई उम्मेदवार उठाउने र उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई उम्मेदवार बनाउने र भोट चाहिँ अध्यक्षले हाल्ने भनेर उहाँहरुले त्यो निर्णय गर्नुभयो ।’
दाहालले उक्त निर्णयपछि आफूले नोट अफ डिसेन्ट लेखेको भन्दै अगाडि भने, ‘त्यो निर्णय गरेपछि मैले नोट अफ डिसेन्ट लेखेँ । मलाई चित्त नबुझेको कुरा लेखेँ । किन भने पहिले नै मलाई पठाउने भनेर निर्णय गरिसक्या हो । र कसैले म पनि उठ्छु भनेर व्यक्तिगत आग्रहमा कार्यसमितिले यस्तो निर्णय गर्नुहुँदैन यसले नराम्रो नजिर बस्छ भनेर मैले चित्त नबुझेको माइन्यूटमा लेख्दिएँ ।’
उनले अगाडि थपे, ‘म सदस्यमा लड्ने भनेर भनेको हो मैले नोमिनेशन अझै दिएको छैन । मंसिर ४ गतेसम्म नोमिनेशन दिने समय छ । मलाई एप्पोनबाट चिठी दिएको छ । उम्मेदवारीका लागि । तर म कन्फ्युज के हो भन्दा खेरी जब २ जनामात्र उम्मेदवार पठाउने भन्ने विधान छ विधानको २९ (१) ले स्पष्ट भन्छ सदस्यहरुले कतिजना प्रतिनिधि पठाउने भन्ने चिज कार्यसमितिले निर्णय गर्ने हो भन्या छ तर त्यो सम्बन्धमा कार्यसमितिले सच्याएकै छैन । भनेको त विधान विपरीत भयो ३ जना जाने भनेपछि त । त्यसैले महासंघको जे निर्णय आउँछ त्यो अनुसार हामी अघि बढ्छौं ।’
गत असोज ३० गते दैनिक पत्रिकामा प्रकाशित सूचनाको बूँदा नम्बर ८ मा ‘महासंघको साधारणसभामा जिल्ला–नगरस्तरीय उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले मूख्य प्रतिनिधिसहित २ जना र उम्मेदवार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग बाणिज्य संघ र वस्तुगत संघको हकमा उम्मेदवारसहित ३ जना प्रतितिनिधिमण्डल पठाउन सकिने छ’ भनी उल्लेख गरिएको छ भन्ने राखेर दाहालले दिएको उजुरीमा ‘उक्त व्यवस्था नेपाल उद्योग वाणिज्य संघको विधान (छैटौं संसोधनसहित) २०४९ र कार्यकारिणी समितिको निर्णय विपरीत भएको हुँदा तत्काल उक्त सूचना बदर गरियोस् भनी निवेदन गरेका हुन् ।
निवेदनमा भनिएको छ– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको सोही बैठक २०७७ साल असार ८ गते बसेको थियो । उक्त बैठकले संघको ५४ औं वार्षिक साधारणसभा एवं निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते गर्ने निर्णय भए अनुसार सबै सदस्यहरुलाई सूचना पठाइसकेको अवस्थामा विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरसबाट नेपालमा पनि असर परेकाले महासंघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचन स्थगित गरी २०७७ साल साउन २६ र २७ गते काठमाडौंमा गर्ने लगायतका विविध निर्णय गरेको थियो । तत्पश्चात २०७७ साल असार १९ गते निर्वाचन समितिबाट निर्वाचन कार्यक्रम समेत जारी गरी सूचना प्रकाशित गरिएको थियो ।’
महासंघमा सोमबार २७६ दर्ता नम्बरमा दर्ता भएको उक्त उजुरीमा अगाडि देखिएको छ, ंनेपाल उद्योग वाणिज्य महासंघले ‘महासंघको ५४ औं वार्षिक साधारणसभा एवं निर्वाचन सम्बन्धी नयाँ मिति बारेको सूचना पठाएको’ भन्ने विषय राखी नेउवामहासंघका सदस्य महानुभावहरुलाई मिति २०७७–०३–२१ गते पठाएको पत्रको बुँदा नम्बर ३ उम्मेदवारी मनोनयन, सभामा प्रतिनिधित्व र शुल्क सम्बन्धमा भन्दै सोही बुँदा नम्बर ३ ग) मा प्रतिनिधि संख्याको बारेमा उल्लेख गरिएको थियो । जसमा महासंघको ५४ औं वार्षिक साधारण सभामा निम्न संघ संस्थाबाट निम्न संख्यामा प्रतिनिधिमण्डल पठाइने व्यवस्था गरिएको छ भन्दै वस्तुगत संघहरुले मुख्य प्रतिनिधिसहित २ जना (१ जना मूख्य प्रतिनिधि र १ अतिरिक्त प्रतिनिधि) भनी स्पष्टसँग उल्लेख गरिएको छ ।’
उजुरीमा अगाडि लेखिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नेपाल राज्यभर बढ्दै गएको कारणले गर्दा पूर्व निर्धारित समयमा महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन हुन नसक्ने अवस्था आएकाले अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा २०७७ साल साउन २१ गते बसेको कार्यकारिणी समितिको सत्रौं बैठकले साधारणसभा एवं निर्वाचन के कसरी अगाडि बढाउने भन्नेबारे ढाँचा तथा प्रक्रिया तयार गर्न जिल्ला, वस्तुगत र एसोसिएट तर्फका सदस्यहरु सम्मिलित समिति गठन गरेको थियो । त्यसपछि पुनः २०७७ साल असोज १५ गते बसेको कार्यकारिणी समितिको अठारौं बैठकले समितिबाट प्राप्त राय सुझाव बमोजिम महासंघको ५४ औं वार्षिक साधारण सभा एवंं निर्वाचन २०७७ साल मंसिर ११, १२ र १३ गते गर्ने निर्णय गरेको थियो ।’
निवेदनमा अगाडि लेखिएको छ, ‘सोही निर्णय बमोजिम नेपाल उद्योग वाणिज्य महासंघले महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन सम्बन्धी सूचना पठाएको भन्ने विषय राखी नेउवामहआसंघका सदस्य महानुभावहरुलाई मिति २०७७–६–२९ गते पठाएको प्र.स.एजिएम १–५४–७६–७७ (५) को पत्रको बुँदा नम्बर ६ मा प्रतिनिधि संख्या उल्लेख गरी महासंघको ५४ औं वार्षिक साधारण सभामा निम्न संघ–संस्थाबाट निम्न संख्यामा प्रतिनिधिमण्डल पठाउने व्यवस्था गरिएको छ भन्दै वस्तुगत संघहरुले मुख्य प्रतिनिधि समेत २ जना र उम्मेदवार खडा गर्ने वस्तुगत संघले थप १ जनासहित ३ जना प्रतिनिधिमण्डलमा समावेश गर्न सक्नेछ भनी उल्लेख गरिएको रहेछ । यसरी ३ जना प्रतिनिधि समावेश गर्न पाउने भन्ने व्यवस्था नेपाल उद्योग वाणिज्य महासंघको आफ्नै पूर्व सूचना (मिति २०७७–३–२१ गतेको) विपरीत रहेको छ । सोही बमोजिमको सूचना मिति २०७७ असोज ३० गतेको राष्ट्रिय दैनिकमा प्रकाशित हुनु आफ्नै पूर्व सूचना र विधान विपरीतको कार्य हो । यस्तो कार्य गर्ने छुट कसैलाई पनि छैन ।’
उजुरीमा अगाडि लेखिएको छ, ‘नेपाल उद्योग वाणिज्य संघको विधान (छैटौं संशोधन सहित) २०४९ को दफा २९ मा साधारणसभामा प्रतिनिधित्व गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । दफा २९ को १ मा सदस्यको कार्यकारिणी समितिले तोके बमोजिम संख्यामा नबढाइ साधारण सभाको निमित्त प्रतिनिधिमण्डल पठाउनु पर्नेछ भनी स्पष्टसँग लेखिएको छ । वस्तुगत संघहरुले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेदवार खडा गर्ने वस्तुगत संघले थप १ जना सहित ३ जना प्रतिनिधिमण्डलमा सवावेश गर्न सक्नेछ भनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको कुनै बैठकले पारित गरेको छ सो खुलाइएको छैन । महासंघ आफैले मिति २०७७–३–२१ गते जारी गरेको पत्रमा वस्तुगत संघहरुले मूख्य प्रतिनिधिसहित २ जना (१ जना मूख्य प्रतिनिधि र १ अतिरिक्त प्रतिनिधि) भनी उल्लेख गरी सबै सदस्यहरुलाई पत्राचार गर्ने अनि फेरि ‘महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन सम्बन्धी सूचना पठाएको’ भन्ने विषय राखी नेउवामहासंघका सदस्य महानुभावहरुलाई मिति २०७७–६–२९ गते पठाएको पत्रमा वस्तुगत संघहरुले मूख्य प्रतिनिधिसहित २ जना र उम्मेदवार खडा गर्ने वस्तुगत संघले थप १ जना सहित ३ जना प्रतिनिधिमण्डल समावेश गर्न सक्नेछ भनी उल्लेख गर्नुबाट यो बीचको समयमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी बैठकबाट वस्तुगत संघमा प्रतिनिधित्व गर्ने सदस्यको संख्या बढाउने गरी निर्णय भएको हुनुपर्यो अन्यथा उक्त सूचना र पत्र दुवै महासंघको विधा विपरीत भएको हुँदा पूर्व सूचना वमोजिम वस्तुगत संघहरुले मूख्य प्रतिनिधिसहित २ जना (१ जना मूख्य प्रतिनिधि र १ अतिरिक्त प्रतिनिधि) पठाउन पाउने गरी सच्याउने कार्य गरियोस् भनी विनम्र अनुरोध गर्दछु ।’
यो निवेदनले नैतिकताका आधारमा वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको उम्मेदवारी धरापमा परेको छ । उनी नेपाल औषधि उत्पादक संघबाट प्रतिनिधित्व गर्दछन् ।
श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको नेतृत्वमा तयार भएको प्यानलमा वस्तुगत उपाध्यक्षका उम्मेदवार हुन् ।
यता अर्को समूहमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टिममा वस्तुगततर्फ अन्जन श्रेष्ठ उम्मेदवार रहेका छन् । महासंघको ५४ औं वार्षिक साधारणसभा मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।