मोरङ । कोरोना संक्रमणबाट धरान उपमहानगरपालिकाका मेयरको उम्मेदवारी दिएकासहित तीन जनाको मृत्यु भएको छ । विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा ६३ वर्षका मेयरका उम्मेदवार सहित तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का पुरुषको मंगलबार मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।
धरानका मृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष तथा गएको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए ।
विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उदयपुरको बेलटार–६ घर भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिए ।
मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि सोही दिन केन्द्रमा पठाएकोमा सघन उपचार कक्ष(आईसियु)मा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक उच्च रक्तचाप र मिर्गौलाका बिरामी रहेका थिए ।