काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एक ल्याएका छन् ।
सोमबारदेखि सार्वजनिक गरिएको नयाँ भर्सनको यो मोबाइल एपमार्फत प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्न सजिलो हुनेछ । पौडेलले भने, ‘प्लाज्माको आवश्यकता पर्यो भनेर धेरैले सामाजिक संजालमा लेखेको देखेकाले यो समस्या समाधान गर्नका लागि यो एप ल्याएका हौं । प्लाज्मा दिन तयार गराउने र चाहिने व्यक्तिलाई जोड्ने काम यो एपले गर्नेछ । दिन चाहनेले पनि फर्म भर्नु पर्ने र लिन चाहने व्यक्तिले पनि फर्म भर्नुपने छ । एपमार्फत लिने–दिने बीच भेट गराइदिने काम हामीले गर्ने हो ।’
यो एप आफूले नै किन शुरु गर्नुपरेको त भन्ने प्रश्नमा केन्द्रीय सदस्य पौडेल भन्छन्, ‘एक त राजनीतिकर्मी भएको नाताले धेरैको सम्पर्कमा हुन्छौं । र अर्कातिर कोभिड जितिसकेकाले प्लाज्मा दिनुस् भनी आग्रह पनि गर्न सकियो । चिकित्सकसंग समेत परामर्श गराएर दिन तयार गराउन पनि सकियो । अर्कातर्फ सामाजिक संजालमा लेखेर प्लाज्मा माग्दैमा पाइने सम्भावना पनि नहुने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास गरेका हौं ।’
पौडेलले अहिलेसम्म दुई जनाले प्लाज्मा दिएको र दुई जनाले उक्त प्लाज्मा लिइसकेको जानकारी दिए । उनले भने, ‘दुई जनाबाट लिएर दुई जनालाई दिइसकिएको छ । माग धेरै भइसकेको छ । आफूले चिनेकालाई अनुरोध गरिरहेका छौं । बिस्तारै यो चिनजानको भन्दा बाहिरको दायरामा गएर प्रचार गर्नेछौं ।’
पौडेल भन्छन्, ‘यो समय एकले अर्कालाई बचाउने समय हो । त्यसैले उत्तम विकल्प यही नै हो भन्ने लाग्यो । निको भएकाले आफ्नो रगत दिँदा शरीरलाई केही हानि हुन्न भनेर चिकित्सकबाट बुझाएर प्लाज्मा लिनेछौं ।’
कोरोना भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनदेखि ३ महिनासम्म प्लाज्मा दिन मिल्छ । शरीरमा एन्टीबडी विकसित भइसकेको व्यक्तिले प्लाज्मा दिँदा त्यसले अर्को गम्भीर संक्रमितलाई बचाउन मिल्ने चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले आइसीयूमा भएका र भेन्टिलेटरमा रहेका बिरामीलाई प्लाज्मा दिनुपर्ने बताउँछन् ।
पौडेलको समूहमा चार जना रहेका छन् । उनको नेतृत्वमा सशांक श्री न्यौपाने, मेली शाह र लभेश हमाल रहेका छन् ।
सशांक भन्छन्, ‘प्लेस्टोरमा प्लाज्मा भनेर टाइप गरेपछि एप देखिन्छ । त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । लिन दिन मिल्नेबीच सेयर गरिन्छ । आफै लेनदन गर्न सकिन्छ । हामीले एप बनाएर जोड्ने काम गरेको मात्र हो ।’