काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद दिएका थिए । अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । साथै, कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।