चित्तल बोकेर राजमार्गमा हुइकिदै गर्दा शम्भु बुढाथोकी पक्राउ, छुटाउन दवाव
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
132
Shares
बेलबारी। मोरङको पथरीमा व्यवसाय गर्दै आएका व्यवसायी शम्भु बुढाथोकीले गाडीमा वन्यजन्तु चित्तल बोकेर हुइकिदै गर्दा पक्राउ परेका छन् । बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तलाई आफ्नो गाडीमा राखेर पथरीतर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमानास्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीका अनुसार मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा (जिप) गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको हो। आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।
पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको छ । ३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए । मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहिर आउने यादवले बताए ।
बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ । तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तरदेखी प्रदेश स्तरसम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यादवले बताए । कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताए ।