arrow

इन्डियन प्रिमियर लिगः बन्यो प्लेअफ समीकरण, मुम्बईको लज्जास्पद हार 

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
rohit-sharma3.jpg

काठमाडौं । अन्तिम खेलमा शीर्ष स्थानको मुम्बई इन्डियन्सले लज्जास्पद हार बेहोरेसँगै युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ । सारजहाँमा मंगलबार राति भएको लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुग्ने अन्तिम टिम बनेको छ । 

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै नटआउट ८५ रन बनाए । साहाले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रन बनाए । 

हैदराबादको शानदार जितले मुम्बईले लज्जास्पद हार बेहोरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो ।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । 

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २–२ विकेट लिए ।

बन्यो प्लेअफ समीकरण 
यो खेलसँगै प्लेअफ समीकरण पूरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । 

जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।

बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो । 

कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ । नेट रन रेटमा बैंगलोर भन्दा पछि परेपछि कोलकाता बाहिरिएको हो ।

मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।

यो संस्करणमा किंगस इलाभेन पन्जाब, चेन्नई सुपर किंगस र राजस्थान रोयल्सले समान १२ अंक बटुल्दै क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहे । 

खेल तालिका–
पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । खेल बेलुकी ७ः४५ बजे सुरु हुनेछ । मुम्बई डिफेन्डिङ च्याम्पियन हो भने दिल्ली दोस्रो पटक प्लेअफमा पुगेको हो । 

यो खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने अवसर पाउने छ । 

इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । इलिमिनेटरमा हैदराबाद र बैंगलोर खेल्नेछन् । 

विजेता टिम दोस्रो क्वालिफायर खेल्दा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । 

दोस्रो क्वालिफायर खेल आइतबार (८ नोभेम्बरमा) अबुधाबीमा हुनेछ । 

यो संस्करणको फाइनल खेल मंगलबार (१० नोभेम्बरमा) दुबईमा हुनेछ । 

दिल्लीबाट तीन वर्षका लागि आवद्ध भएका नेपाली स्पिन बलर सन्दीप लामिछानेले भने यसपालि खेल्न पनि पाएनन् । अबको क्वालिफायरमा खेल्ने सम्भावना पनि कम छ । 

सन्दीप लामिछाने मैदानमा नदेखिइ फर्किने भए युएईबाट 



लोकप्रिय समाचार
नयाँ