काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरावणे बुधबार नेपाल भ्रमणमा आउँदै छन् । उनी बुधबार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् ।
नेपाली सेनाको निमन्त्रणामा आउँदै गरेका नरावणे तीन दिन नेपाल रहने छन् । उनले बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् ।
नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने परम्परा सन् १९५० को सन्धिपछि जारी रहेको छ ।
तर नरावणेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली रुष्ट छन् । नेपालको कालापानी क्षेत्रमा भारतले सडक बनाएकामा आलोचना भएका बेला नरावणेले कसैको उक्साहटमा नेपालमा भारतको विरोध भएको टिप्पणी गरेका थिए । उनको चीनतर्फ इशारा गरेका थिए ।
उनको यो भनाईप्रति प्रतिक्रिया जनाउने क्रममा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले कडा प्रतिक्रिया जनाएका थिए । जसका कारण अहिले सम्बन्ध नबिग्रियोस् भन्नका लागि पोखरेलबाट रक्षा मन्त्रालय खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले मन्त्रालय सम्हालेका छन् ।
अर्थात् ओलीले आफैले नरावणेसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी नरावणेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्ने कार्यक्रम छ ।
नरावणेको नेपाल भ्रमणपछि दुई देशबीच देखिएको असमझदारी अन्त्य भएर दुई देशका अधिकारीबीच संवादको ढोका खोल्ने अनुमान गरिएको छ ।
नरावणेले आफ्नो नेपाल भ्रमणले दुई देशको सेना बीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि लिन पाउँदा आफूले सम्मानित महसुस गरिरहेको समेत नरावणेले बताएका छन् ।
नरावणेको भ्रमणलाई हेरेर काठमाडौंमा सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।