काठमाडौं । कोरोना भाइरस संक्रमित नेपाली कांग्रेसका नेता एवं सांसद मीन विश्वकर्माको स्वास्थ्य सुधारोन्मुख रहेको छ । कोरोना भाइरस सँगसँगै निमोनियासमेत भएपछि विश्वकर्मालाई ग्राण्डी इन्टरनेशनल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएका विश्वकर्माको मंगलबार होश खुलेको छ । उनले चिकित्सकलाई हात समेत हल्लाएको चिकित्सकलाई उधृत गर्दै नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्य सुधारोन्मुख छ । हिजो डाक्टरसँग हात पनि उठाउनु भयो ।’
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतका नेताहरुले दिनहुँ चिकित्सकसँग सम्पर्कमा रहेर नेता विश्वकर्माको स्वास्थ्य बारेमा जानकारी लिइरहेको पौडेलले बताए ।
उनले सभापति देउवाले दिनको दुई पटक उपचारमा संलग्न चिकित्सकसँग परामर्श गरिरहेको समेत जानकारी दिए ।
चिकित्सकहरुका अनुसार एक दुई दिनमै स्वास्थ्यमा थप सुधार भएपछि भेन्टिलेटरबाट निकाल्ने पौडेलले बताए ।