काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आएका सेनाध्यक्षको बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अभिवादन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ।
नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन्। नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ।
स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्। उनको सम्मानमा भोलि नै जङ्गी अड्डामा रात्रीभोज आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्नेछन्।