काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न खेलमा समूह जी मा बार्सिलोनाले डाइनामो किभलाई २–१ गोल अन्तरले हरायो ।
बार्सिलोनालाई जिताउने क्रममा कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले १–१ गोल गरे । मेस्सीले यो गोलसँगै च्याम्पियन्स लिगमा १५० गोलको आँकडा पनि पूरा गरे ।
डाइनामोका लागि भिक्टर सिगानकोभले एक गोल फर्काए ।
यही समूहको अर्को खेलमा क्रिष्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सले फेरेनभारोसलाई ४–१ गोल अन्तरले हरायो । अल्भारो मोराटाले २ गोल गर्दा पाउलो डायबालाले १ गोल थपे । लाशा डीभालीले आत्मघाती गोल गरेका थिए ।
यो खेलपछि समूहमा ३ खेलबाट ९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ भने युभेन्टसको ६ अंक छ । बाँकी दुई टिमको १–१ अंक छ ।
अन्य खेलको नतिजा–
समूह इको खेलमा चेल्सी ३–० रेन्नेस
सेभिया ३–२ एफ सी क्रास्नोदार
समूह एफको खेलमा जेनित सेन्ट पिटर्सबर्ग १–१ लाजिओ
क्बल ब्राग ०–३ बोरुसिया डर्टमुन्ड
समूह एचको खेलमा इस्टानबुल बसाक्सेहिर २–१ म्यान्चेसटर युनाइटेड
रासेनबल स्पोर्ट लेप्जिग २–१ पेरिस सेन्ट जर्मेन