काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार पहिलो क्वालिफायर खेल हुँदैछ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच बेलुकी ७ः४५ बजे दुबईमा भिडन्त हुँदैछ ।
जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमलाई फेरि अर्को अवसर मिल्नेछ । हार्ने टिम एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् ।
लिग चरणमा मुम्बई १८ अंकसहित शीर्ष स्थानमा रहँदा दिल्ली १६ अंकसहित दोस्रो हुँदै क्वालिफायर्समा पुगेका हुन् ।
यो सिजनका दुवै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो । पहिलो खेलमा ५ विकेटले तथा दोस्रो खेलमा ९ विकेटले दिल्ली हारेको थियो ।
यो आंकडाले मुम्बईलाई हावी बनाएको छ । हेड टु हेडमा २६ खेलमा मुम्बईले १४ तथा दिल्लीले १२ खेल जितेको छ ।
मुम्बईसँग धेरै जना म्यान विनर रहेका अवस्थामा दिल्लीसँग फर्मकै चिन्ता छ ।