पाँचथर । समुदायस्तरमा कोरोना फैलन शुरु भइसकेकोले रोकथाम तथा ब्यवस्थापनका लागि पाँचथरको फिदिम बजारमा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । फिदिम नगरपालिकाको आकस्मिक वैठकले दुई हप्ताका लागि बजारक्षेत्र, ब्यवसाय तथा शैक्षिक क्षेत्र बन्द गराएको हो ।
बुधबार राती १२ बजेबाट आगामी मंसिर ४ गतेसम्म ती क्षेत्र बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले जानकारी दिए । फिदिम नगरपालिका १ बजारमा मात्रै २४ जनामा गरिएको परिक्षणमा १४ जनामा पिसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नुपरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।
यस्तै कोभिड पोजेटिभ देखिएका ब्यक्ति र तिनको सम्पर्कमा आएका ब्यक्ति तथा परिवारले आआफ्नो घरमा स्वअनुशासित भई होम क्वारेन्टाईन र आइसोलेशनमा बस्न नगरले आग्रह गरेको छ । स्वास्थ्य एवम सुरक्षा सम्वन्धी मापदण्डहरु र आदेशको अवज्ञा गर्ने ब्यक्तिलाई संक्रामक ऐन २०२० बमोजिम कारवाही गरिने भन्दै नगरले सचेत समेत गराएको छ ।