काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहिवार विहान आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहीदहरुप्रति श्रद्घान्जली अर्पण गरेका छन्।
वीर स्मारकमा माल्यार्पण गरि नरवणेको दोस्रो दिनको कार्यक्रम शुरु भएको थियो। त्यहाबाट नेपाली सेनाको जंगी अड्डा पुगेका उनलाई नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । त्यस लगत्तै नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको नेपाली सेनाले जनाएको छ। त्यसक्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुसँग भारतीय सेना प्रमुख नरवणेको छलफल समेत भएको थियो।
भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए। कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको थियो । यस अघि पनि भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।
नरवणेले आजै भारतीय दुतावासको कार्यक्रममा सरिक भइ ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी लिने कार्यक्रम रहेको छ । शुक्रवार स्वदेश फर्कनु अघी उनले सैनिक स्टाफ कलेजमा प्रवचन दिने कार्यक्रम रहेको छ भने रक्षामन्त्रीको कार्ययभार समेत सम्हालेका प्रधानमन्त्री केपीशर्मा ओलीसँग शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ ।
नेपालको तीन दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।