डडेल्धुरा । आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।डडेल्धुरासहित सुदुरपश्चिम प्रदेश अन्तर्गतका महाकाली र सेती अञ्चलमा पर्ने बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लामा पनि कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा झण्डै ११ करोड राजश्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको तिन महिनामा १० करोड ९४ लाख राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । संकलन भएको राजस्व अन्र्तगत आयकर तीन करोड ४६ लाख, अन्र्तशुल्क ८८ लाख र मुल्य अभिवृद्धी करबाट छ करोड ५९ लाख राजस्व संकलन भएको कर अधिकृत तिलकराज बोगटीले बताए ।
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ३८ करोड ५२ लाख राजस्व संकलनको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा संकलन भएको राजस्वले लक्ष्य सहजै प्राप्त गर्ने उनले बताए । पछिल्लो समय करदाताहरुमा चेतनाको विकास हुँदै गईरहेकाले राजस्व संकलन लक्ष्य भन्दा बढी हुन थालेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । कोरना महामारीको सन्त्रासका कारण आर्थिक वृद्धी दर घटदै गएका बेला सरकारले कर असुलीमा अकल्पनीय सफलता हासिल गर्न थालेको व्यवसायीहरु बताउछन् ।
सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रमा रहेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले नयाँ प्रविधिको वायुमेट्रिक प्रणालीद्वारा सेवा सुचारु गरेको हो । गत आर्थिक बर्ष २०७६-०७७ मा २६ करोड ४३ लाख १३ हजार चार सय ७० रुपैयाँ राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालय डडेल्धुराले जनाएको छ ।