वीर अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, सुनुवाई नभइ कडा आन्दोलनमा जाने चेतावनी
कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएपछि भए आन्दोलित
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
121
Shares
काठमाडौं। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै बिरोधमा उत्रिएका स्वास्थ्यकर्मी कर्मचारीहरुले वीर अस्पतालमा धर्ना तथा प्रदर्शन जारी राखेका छन्। स्वास्थ्यकर्मी कर्मचारीहरुले पदाधिकारी बिरुद्द नाराबाजी गर्दै विहान साढे १० देखि एक घण्टा धर्ना दिएका थिए। आफ्ना माग सुनुवाई गराउन शान्तिपूर्वक पटक पटक दवाव दिदा पनि नभएपछि रुष्ट भएका कर्मचारीहरुले अझै बेवास्ता भए आइतबारबाट थप कडा आन्दोलन कार्यक्रम गरिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुमराज आचार्यले बताएका छन् ।
कार्तिक ३ गतेदेखि बिरोधमा उत्रिएका उनीहरु दशैंपछि फेरि आन्दोलनमा जुटेका हुन्। हाम्राकुरासँग कुरा गर्दै नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष आचार्यले बिरोधका कार्यक्रम अन्तर्गत अस्पतालमा धर्ना दिने, पदाधिकारी विरुद्ध पम्पलेट तथा दुवै गेटमा कालो ब्यानर टाँस्ने कार्यक्रम गरेको बताए। उनले माग सुनुवाई नभइ कडा कार्यक्रम ल्याउन वाध्य हुने चेतावनी दिए।
आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने आचार्यले बताए । चैतदेखि हालसम्म कोभिड भत्ता, औषधी खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएपछि वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएको हुन् ।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग गरेका छन् । आफुहरुले पीपीई, मास्क लगायत सुरक्षा सामग्री नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको वीरका कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । उनीहरुले अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई उपचारमा खटिए वापतको भत्ता समेत नदिएर धोका दिइएको बताएका छन् ।