पन्ध्र दिनअघि उपचार गराएर फर्किएकी महिलाको संक्रमणबाट मृत्यु
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
42
Shares
सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् ।
पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बिपी कोइराला प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ ।