arrow

 इन्डियन प्रिमियर लिगः मुम्बई फाइनलमा, दिल्लीले अर्को क्वालिफायर खेल्नुपर्ने, सन्दीप खेलेनन्

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
ipl-bumraha.jpg

काठमाडौं । मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाउन सक्यो ।

दिल्लीका लागि मार्कस स्टोनिसले ६५ तथा अक्षर पटेलले ४२ रन बनाए । एक रन नजोड्दै ३ विकेट गुमाएको दिल्लीमाथि शानदार जित निकाल्ने क्रममा जस्प्रित बुम्राहले १४ रन खर्चेर ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको नोक्सानीमा दुई सय रन बनाएको थियो । इशान किसनले ३० बलमा नटआउट ५५, सूर्यकुमार यादवले ३८ बलमा ५१, क्विन्टन डी ककले २५ बलमा ४० तथा हार्दिक पाण्डेयाले १४ बलमा नटआउट ३७ रन बनाए ।

दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कस स्टोनिस र एनरिच नोर्टजेले १–१ विकेट लिए ।

यो जितसँगै डिफेन्डिङ च्याम्पियन मुम्बई लगातार फाइनलमा पुग्न सफल भएको छ । यो सिजन लगातार तीन खेल मुम्बईसँग हारेको दिल्लीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । 

दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । खेल बेलुकी ७ः४५ बजे अबुधाबीमा हुनेछ । 

खेल्न पाएनन् सन्दीप ?
यसपालि दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई धोका दियो । सन्दीपले एक खेल पनि खेल्न पाएनन् । प्लेअफ पुग्ने निश्चित प्रायः भइसकेपछि दिल्लीले लगातार चार खेल हार्यो । दिल्लीले ती चार खेलमा सन्दीपलाई खेल्न खेलाउन सक्थ्यो । सन्दीप बेन्चमै बस्न वाध्य भए । 

पहिलो क्वालिफायर्समा पनि खेलाएन । अब अन्तिम क्वालिफायर्समा खेलाउने सम्भावना नै छैन । अहिले जमिरहेका स्पिनरहरु घाइते भएमात्र सन्दीपको पालो आउनेछ । 

सन्दीप लामिछानेले यसपटक एक खेल पनि खेल्न पाएनन् । १५ वटै खेलमा उनी बेन्चमा बस्न वाध्य भए । 

दिल्लीसँग आवद्ध सन्दीपलाई यसअघिका दुई वटै सिजनमा दिल्लीले खेलाएको थियो । तर यसपालि सबै खेलमा बेन्चमा राख्यो । 

दिल्लीले तीन वर्षका लागि सन्दीपसँग सम्झौता गरेको थियो । पहिलो सिजनमा ३ र दोस्रो सिजनमा ६ खेल सन्दीपले खेल्न पाएका थिए । 

युएईबाट सन्दीप बिना खेल फर्कने छन् । उनले बडादशैंको अवसरमा नेपालीहरुलाई शुभकामना दिँदै आफू युएईमा भए पनि मन भने नेपालमै रहेको बताएका थिए ।  
 



लोकप्रिय समाचार
नयाँ