काठमाडौं । पाका पत्रकार सीताराम बर्माको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शुक्रबार बिहान उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । केही दिनअघि जीवनसंगिनीसमेत गुमाएका बर्माको स्वास्थ्य प्रतिकुल भएपछि निधन भएको हो ।
किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ । उनले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी राससबाट पनि सम्मानित भएका थिए । बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको शुक्रबारै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।
उनको निधनप्रति नेपाल प्रेस युनियन केन्द्रले दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गर्दै प्रेस युनियन धादिङका संस्थापक अध्यक्ष बर्माको निधनको खवरले स्तव्ध बनाएको उल्लेख गरेका छन् ।
जीवनको उत्तराद्र्धमा समेत पत्रकारितामा सक्रिय बर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध थिए ।
यस्तो छ नेपाल प्रेस युनियनको शोक विज्ञप्ति–
मितिः २०७७ कार्तिक २१
शोक विज्ञप्ती
नेपाल प्रेस युनियन धार्दिङका संस्थापक अध्यक्ष सिताराम बर्माको निधनको खबरले नेपाल प्रेस युनियन स्तब्ध भएको छ । नेपाल पत्रकार महासंघ धार्दिङका समेत संस्थापक रहनुभएका ७९ बर्षिय बर्माको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । केहि दिनअघी जीवनसंगिनी समेत गुमाउनुभएका बर्मा त्यसयता स्वास्थ्यमा प्रतिकुलता आई अस्पताल भर्ना हुनुभएको थियो । जीवनको उत्तरार्द्धमा समेत राष्ट्रिय समाचार समिति मार्फत पत्रकारीतामा क्रियाशिल भइराख्नु भएका बर्मा मोफसलको पत्रकारीतामा सम्मानको साथ लिइने नाम थियो । बर्माको निधनले खासगरि मोफसलको पत्रकारीतामा ठूलो क्षती पुगेको छ । शोकको यस घडीमा नेपाल प्रेस युनियन स्वर्गीय सिताराम बर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका सम्पूर्ण बर्मा परिवारमा समवेदना प्रकट गर्दछ ।
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन