प्रचण्डले धुम्बाराहीमा बोलाएको सचिवालय वैठकमा भेला भए ५ जना
केपी सहित ४ जना अनुपस्थित
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
43
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको जानकारी दिए ।
पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै टार्दै आएका थिए । बिहीबार मात्रै दुई अध्यक्षबीच छलफल भएको थियो । सो छलफलमा समेत प्रचण्डले सबै कुरा सचिवालयमा गरौं भन्दा ओलीले नमानेपछि आफैले अनौपचारीक वैठक बोलाएका हुन् ।
पछिल्लो समय सचिवालयका ६ सदस्य प्रचण्ड समूहमा छन् । विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ । शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन्।
बैठकमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहित सरकारमा रहेका सचिवालय सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल र अर्थमन्त्री बिष्णु पौडेल भने वैठकमा गएनन् ।