arrow

इन्डियन प्रिमियर लिगः हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो

logo
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
ipl-bangalore-haidarabad.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटर खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

बैंगलोरले दिएको १ सय ३२ रनको सामान्य विजयी लक्ष्य हैदराबादले १९.४ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।
हैदराबादको जितमा केन विलियम्सनले नटआउट ५० रन बनाए । जासन होल्डर र मनिष पाण्डेले समान २४–२४ रन बनाए । बैंगलोरका मोहमद सिराजले २ तथा एडम जाम्पा र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले खराव प्रदर्शन गर्दै ७ विकेटको नोक्सानीमा १ सय ३१ रन बनाएको थियो । एबी डी भिलियर्सले ५६, आरोन फिन्चले ३२ रन जोडे । कोहलीले मात्र ६ रन बनाए । हैदराबादका जासन होल्डरले ३, टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।

यो हारपछि बैंगलोरको आईपीएल यात्रा पनि टुंगिएको छ । 

अबको समीकरण
अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

दोस्रो क्वालिफायर खेल आइतबार बेलुकी ७ः४५ बजे हुनेछ । खेल अबुधाबीमा हुनेछ । 

यो खेलको विजेताले मंगलबार हुने फाइनलमा मुम्बईसँग खेल्नेछ । 



लोकप्रिय समाचार
नयाँ