arrow

ओली पक्ष र प्रचण्ड पक्ष आमने सामने

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
oli-prachanda-final.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो यतिसम्म अगाडि बढेको छ कि हेर्दा लाग्छ कुनै पनि बेला पार्टी फुट्न सक्छ । तर पार्टी फुटाएर कसैलाई पनि फाइदा नहुने देखिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली इतरको पक्ष मेलमिलापकै नीतिमार्फत अगाडि बढ्न खोजिरहेको छ । 

नेकपाका कुनै पनि नेताले पार्टी फुट्ने भन्दैनन् । तर भित्रभित्र उनीहरुको मनमा के चलिरहेको छ भन्ने उनीहरुको व्यवहारबाटै स्पष्ट देखिँदै आएको छ । ओलीले गरेको अतिवादको परिणाम स्वरुप अहिले नेकपा धरमरमा रहेको स्वयं नेकपाकै नेताहरु बताउँछन् । ओली पक्षका इमानदार नेताहरु समेत पनि ओलीको प्रवृत्तिदेखि वाक्क छन् । ओली आफूले जे बोले त्यो नै सत्य हो भन्नेतिर गइरहेका छन् । आफूलाई जे लाग्छ त्यो मात्रै सत्य हो भन्नेतिर जाँदा नै अहिले मुलुकको सबैभन्दा ठूलो पार्टीको स्थिति निकै कमजोर मोडमा पुगेको छ । 

‘विन विन’ स्थितिमा लैजानका लागि भन्दै गत भदौमा स्थायी कमिटी बैठकका निर्णय सबैले मान्नुपर्ने भनी उर्दी जारी गरियो । ओलीले सरकार संचालन गर्दा सचिवालयबाट प्राप्त सुझाव मान्ने र प्रचण्डले पार्टी संचालन गर्दा पनि सचिवालयका सुझाव मान्ने निर्णय भएको थियो । तर ओलीले बिना कुनै छलफल मन्त्रिमण्डल हेरफेरदेखि लिएर राजदूत सिफारिस र मुख्यसचिव नियुक्ति गर्ने काम गरे । 

ओली पक्षले यो त प्रधानमन्त्रीको अधिकारको कुरो भन्दै आएको छ । तर त्यो अधिकार पनि पार्टीबाटै निर्देशित हुनुपर्ने भन्ने निर्णय उनीहरुले भुले । यता प्रचण्ड पक्ष पनि पार्टी एकताका प्रक्रिया पूरा गर्नुको सट्टा नियुक्तिमै अल्झिरहेको छ । गल्ती दुवैतर्फ भए पनि ओली दुवैतर्फका प्रमुख हुन् । उनैले गरेको बलमिच्याइँले गर्दा नै पार्टी गम्भीर मोडमा पुगेको बामपन्थी विश्लेषकहरुको निचोड छ । 

ओलीले समय समयमा आफूलाई हटाउने खेल भइरहेको भनिरहने, निर्वाचन आयोगमा पुरानै एमाले दर्ता गर्न लगाउने, मदन भण्डारीको नीति जनताको बहुदलीय जनवादलाई पनि आधार बनाएर संगठित हुन निर्देशन दिने (केही दिनअघि प्रदेश १ का मुख्यमन्त्रीसमेतको जुम बैठकमा दिएको निर्देशन), संघीयता विरोधी अभियान केन्द्रमा बसेर चलाउने, कर्णाली प्रदेश सरकारमाथि हस्तक्षेप गर्ने, पर्सामा आफ्ना पक्षका नेतालाई हत्या आरोपमा गिरफ्तार नगर्न प्रहरी प्रशासनलाई दवाव दिने लगायतका कामहरु गरिरहँदा इतर पक्ष असन्तुष्ट बन्दै गएको छ । 

कोरोना भाइरसको महामारीका बेलामा आन्तरिक किचलोमा फस्नु त छँदैछ जनताका भावनामाथि पटक पटक प्रहार गर्ने ओली सरकार आलोचित भइरहेको छ । सरकार आलोचित भइरहँदा सिङ्गो पार्टी नै बदनाम भइरहेको भन्दै नेकपाका ओली इतर पक्षका नेताहरु फेरि एकजुट भएका छन् । 

पार्टी जोगाउन अर्को कदम 
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी फुटबाट जोगाउन अर्को कदम चालिएको छ । त्यो हो ओलीलाई सही बाटोमा ल्याउन फकाउने । शुक्रबार प्रचण्ड पक्षका सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन सामूहिक रुपमा आग्रह गर्ने भएका छन् । शनिबार उनीहरु सामूहिक रुपमा बालुवाटार जाने निर्णय भएको छ । 

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रचण्डले आयोजना गरेको अनौपचारिक बैठकले पार्टी र सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन र पछिल्ला दिनमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सचिवालय तथा अन्य निकायको बैठक बोलाउन सामूहिक रुपमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार शीर्ष नेताहरु शनिबार सामूहिक रुपमा बालुवाटार जाँदैछन् । 

कार्यकारी अध्यक्षले नै औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा अगाडि बढ्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।  प्रचण्डसहित सचिवालयका पाँच  सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने छन् । 

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने छ । 

तर नौ सदस्यीय सचिवालय सदस्यमध्ये शुक्रबारको बैठकमा प्रचण्ड खेमाका मात्र सदस्यहरु उपस्थित भए । तर बहुमत सदस्य प्रचण्डतिरै छन् । प्रचण्डसहित शक्तिशाली नेताहरु वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी बैठक ओजपूर्ण नै थियो । तर ओलीसहित उनको टिमका महासचिव एवं अर्थमन्त्री  विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएका थिएनन् ।

बादल भने अहिले पनि प्रचण्ड पक्षकै हुन् भन्ने बुझाइ धेरैको छ । बादलले पार्टी मिलाउन प्रयास गर्ने योजना अनुरुप नै शुक्रबारे बैठकमा सहभागी नभएको बताइन्छ । उनी शुक्रबारको बैठकमा नगए पनि प्रचण्ड पक्षकै रहेको बुझिन्छ । ओलीले केही दिनअघि बादललाई बोलाएर आफ्नो कित्ता स्पष्ट पार्न आग्रह गरेको समाचार बाहिरिएको थियो । 

अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतमले कुनै पनि हालतमा पार्टी फुट्न दिने कसम खाँदै औपचारिक सचिवालय बैठकको प्रतिक्षा गरिरहेका छन् । प्रचण्डले आफू पहिलेजस्तै पार्टी फुट्न नदिन अहम् भूमिका खेल्न पछि नपर्ने बताइरहेका छन् । 

यो समूहको स्थिति बलियो छ । सचिवालयदेखि स्थायी कमिटीसम्म बहुमत छ । बहुमत पक्ष नै सशक्त भएपछि ओलीले त्यसलाई आत्मसात गर्नुको विकल्प छैन । ‘मै खाउँ, मैलाउँ र मै सबै गरुँ’ भन्ने मानसिकताबाट पछि हटेर देश र जनताको हितका लागि पनि ओलीले जनमतलाई आत्मसात गर्नुपर्ने देखिन्छ ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेको छ । उनले नेकपाको विवाद मिलाउन नेताहरुलाई भेट्दै आएकी छिन् । कहिले उपाध्यक्ष बामदेव गौतम, कहिले बादल र कहिले उर्जामन्त्री वर्षमान पुन अनन्तलाई भेटेर उनले पार्टीको विवाद मिलाउन निर्देशन दिएकी हुन् । 

ओली आपत्मा पर्दामात्र उनको अग्रसरता बढ्ने भएकाले पनि उनी नेकपाबाटै बनाइएकी राष्ट्रपति भए पनि तत्कालीन एमालेको पनि ओली खेमाभित्र सीमित रहेको उनले व्यवहारले स्पष्ट पारिरहेको छ । 

ओली इतर पक्ष राष्ट्रपतिदेखिसमेत रुष्ट छ । 



लोकप्रिय समाचार
नयाँ