अर्घाखाँची। नेकपा नेतृत्वको दुई तिहाईको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बरु उल्टै पार्टीको आन्तरिक किचलोमा रुमल्लिरहेको भन्दै देशका विभिन्न जिल्ला तथा स्थानिय तहमा नेकपाका कार्यकर्ताहरु पार्टी परिवर्तनमा लागेका छन् । यहि क्रममा अर्घाखाँचीको मालारानी ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जनाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
तत्कालिन एमालेबाट निर्बाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना शनिवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशीहरुलाई नेपाली कांग्रेसका सभापति बिष्णु खनाल मुस्कानले फुलमाला सहित स्वागत गरेका थिए । दुईतिहाईको सरकार बनेपछि देशमा स्थायित्व र विकाससँगै आन्तरिक रोजगारको अवसर सिर्जना हुनेमा विश्वस्त भएका जनता नेताहरुको एकपछि अर्को भ्रष्टाचार काण्ड तथा नाताबाद र कृपाबादमा मुछिँदा छाँगाबाट खसेजस्तै भएर आफैले दिएको मतलाई धिक्कार्न पुगेको प्रवेश गर्नेहरुको गुनासो थियो ।
दिनदिनै जनताको भरोसा गुमाइरहेको सरकारले जनतालाई निराषमात्र बनाएन कोभिड महामारीका नाममा भ्रष्टाचार गरेर अभिभावक बन्ने अवसर पनि गुमाएको नवप्रवेशी सुमित्राले बताइन । देशको हितमा लाग्ने पार्टी नेपालमा अब नेपाली कांग्रेस मात्र भएको भन्दै अन्य साथीहरुलाई पनि पार्टी परिवर्तन गरी कांग्रेसमा आउन उनले आग्रह गरिन । परिवर्तनकारी युवाहरु मिलेर देशलाई कांग्रेसमय बनाउने अभियानमा होमिएको जनाउँदै उनीहरुले नेकपाको अतिवाद जनताले नसहने बताए।